नेकपाले माग्यो तल्ला कमिटीसँग उपनिर्वाचनको रिपोर्ट

15

(काठमाडौं) – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले तल्ला कमिटीसँग मंसिर १४ गते भएको उपनिर्वाचनको रिपोर्ट मागेको छ । नेकपाले उपनिर्वाचन भएका ५२ वटै तहका परिणामको समीक्षा सहितको रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई निर्देशन दिएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा धुम्बाराहीस्थितल केन्द्रीय कार्यालयमा बुधबार बसेको सचिवालय बैठकले चुनावी रिपोर्ट पेश गर्न सबै क्षेत्रका सम्बन्धित निकायलाई निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठकले निर्वाचन भएका प्रतिनिधि सभा, प्रदेश सभा, गाउँ र नगर र वडा कमिटीलाई समीक्षा पठाउन भनेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । मंसिर २३ गते बस्ने सचिवालयको अर्को बैठकमा उपनिर्वाचनको सम्बन्धमा तल्ला कमिटीको रिपोर्ट सहित समीक्षा हुने बताइएको छ ।

सचिवालय बैठकमा उपचुनावमा सामान्य समीक्षा भएको र विशेषतः धरान उपहानगरपालिका र भक्तपुरको प्रदेशसभाको पराजयबारे नेताहरुले चासो राखेको स्रोतले जनाएको छ । उपनिर्वाचनको समग्र परिणाममा आधाभन्दा बढीमा जित हासिल भए पनि केही ठाउँको पराजयको समीक्षा आवश्यक रहेको नेकपाले जनाएको छ ।

उपनिर्वाचन भएका ५२ स्थानमध्ये प्रतिनिधिसभा र प्रदेशसभाका एक/एक सिट सहित नेकपाले ३० ठाउँमा जित हासिल गरेको छ । सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको श्रेष्ठले बताए ।

समाचार वर्गहरू