नेकपाले मात्रै न्याय, समानता र समृद्धि दिन सक्छ : प्रधानमन्त्री ओली

25

रासस/काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलक रुपमा काम गर्न नसक्ने ठोकुवा गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाले नै सङ्घर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको उल्लेख गरे ।

उनले पार्टीका महिला नेताकार्यकर्तालाई आफ्नो सङ्गठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिँदै भने, “परिवर्तन र कम्युनिष्टविरोधी महिला संस्था वा अन्तर्राष्ट्रिय संस्थाहसँग सहकार्य गरेर महिला अधिकार स्थापित हुन्छ भन्ने पूर्ण सत्य होइन । यो काम हाम्रो सङ्गठनले मात्रै गर्न सक्छ ।”

वर्तमान सरकारले विकासनिर्माणलाई गति दिएकाले आगामी आम निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने उनले बताए । सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमको कुनै असर नपर्ने उल्लेख गर्दै उनले भने, “म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो । कसैले रोकेर रोकिँदैन । रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ ।”

अध्यक्ष ओलीले पाटीभित्र सबै नेताहरु एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर अघि बढेकाले कतिपय सञ्चारमाध्यमले चलाएको भ्रममा परेर को बहुमत र को अल्पमतमा भन्नेतिर नलागी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न आग्रह गरे ।

समाचार वर्गहरू