काठमाडौं – नेकपा एकीकृत समाजवादी (एस) पार्टीभित्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद शुरु भएको छ ।
बुधबारबाट शुरु भएको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा नेता खनालले अमेरिकी सहयोग अनुदान परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई हेर्ने विषयमा दुई नेताहरुबीच मत बाझिएपछी विवाद शुरु भएको हो ।
बुधबारको बैठकमा सम्मानित नेता खनालप्रति लक्षित गर्दै अध्यक्ष नेपालले पार्टी भर्खरै निर्माण भएको र आउने निर्वाचनमा ठूलै चुनौतीको सामना गर्नुपर्ने अवस्था आउने भएकाले सबै खालका विवादलाई अहिले नै बहसमा ल्याउन जरुरी नभएको बताएका थिए ।
उनले एमसीसीबारे बहस विवाद गर्नुको कुनै औचित्य नभएको बताउँदै सबै नेताहरुलाई एमसीसीमा विवाद नगर्न आग्रह गरेका थिए । ‘कमरेडहरुलाई म अनुरोध गर्दछु, पार्टीको ह्विप र निर्णय विपरीत उभिने काम नगरौँ यसले हामीलाई अराजकतातर्फ लैजान्छ’, अध्यक्ष नेपालको भनाई उद्यृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
अध्यक्ष नेपालको ब्रिफिङपछी नेता झलनाथ खनाल पनि एमसीसीमा जे गरिएको छ त्यसलाई उपलब्धिमा रुपान्तरण गर्नतर्फ लाग्नुपर्ने धारणा राख्दै एमसीसीबाट पछि हटेको नेताहरुले बताएका छन् । एमसीसीमा विवाद र बहस गरेर कुनै फाइदा नभएको निष्कर्षमा नेता खनाल पुगेको नेताहरुको ठम्याइ छ ।
एमसीसी सम्झौता संसदबाट व्याख्यात्मक घोषणासहित पारित भएकोमा चर्को असन्तुष्टि जनाएका खनालले सम्झौता राष्ट्र हितको पक्षमा हुँदै नभएको बताउँदै आएका थिए ।