काठमाडौं – नेकपा एकीकृत समाजवादीकी चर्चित युवा नेत्री रामकुमारी झाँक्री उपाध्यक्ष बन्ने लगभग निश्चित भएको छ । पार्टीको जारी महाधिवेशनमा उनीसहितको पदाधिकारी टिम र केन्द्रीय समितिको शुक्रबार घोषणा हुनेछ ।
बिहिबार तीन जना प्रमुख नेताहरूको पुरानै पदलाई निरन्तरता दिने घोषणा गरिएको छ । जसअनुसार अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल दोहोरिएका छन् । अन्य पदाधिकारी भने चयन भएको छैन ।
पदाधिकारी सर्वसम्मत चयन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ । बिहिबार घोषित अध्यक्ष, सम्मानित नेता र महासचिवको तीन सदस्यीय टीमलाई सचिवालय भनिएको हो । सचिवालयले शुक्रबार सबै सूची तयार गरेर बिहान १० बजे घोषणा गर्ने भनिएको छ ।
आन्तरिक सहमति अनुसार झाँक्रीलाई उपाध्यक्ष बनाइने छ । उनी यसअघि सचिव थिइन् । अहिलेका अन्य सचिवहरूले सोही पदमा निरन्तरता पाउने छन् ।
पहिलो पटक विधानमा वरिष्ठ उपाध्यक्ष र वरिष्ठ नेताको पद थप गरिएको । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको सम्भावना रहको छ ।
एकीकृत समाजवादीले २१ जनाको पदाधिकारी टिम र २९९ सदस्यी केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ ।