नेकपा केन्द्रीय कमिटी बैठकः पार्टीलाई थप चलायमान बनाइने

20

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी गरिएको छ । यही पुस २३ बस्ने केन्द्रीय कमिटीको बैठकको तयारी गरिएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढ वर्षमा पहिलो पटक बस्न थालेको हो । विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ ।
विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो । पहिलो बैठकमा केन्द्रीय सदस्यलाई शपथ खुवाइएको थियो । त्यसपछि यता बैठक हुन सकेको छैन । पार्टी एकता भएको झण्डै डेढ वर्षपछि बैठक हुन थालेको हो । बैठक प्रदर्शनीमार्ग्स्थिति राष्ट्रियसभागृहमा गर्नका लागि बुकिङसमेत भइसकेको उनले जानकारी दिए । बैठक आगामी बुधबारदेखि पाँच दिनसम्म सञ्चालन हुनेछ । बिहान ११ बजेदेखि ५ बजेसम्म बैठक हुनेछ । पार्टी एकतापछि पहिलो पटक कार्यसूचीसहित बैठक बस्न थालेको हो । केन्द्रीय कमिटीको बैठकको कार्यसूची सचिवालय बैठकले तय गरेको थियो ।
पार्टीभित्र बैठक, भेला र साङ्गठनिक गतिविधि बढाउन व्यापक माग बढेका बेला नेकपाको मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक डाकिएको हो । बैठकले सचिवालय बैठक र स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्नेछ । बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी सञ्चालन गर्ने जिम्मेवारी र सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालय बैठकको निर्णयलाई अनुमोदनसमेत गर्नेछ । बैठकले अनुमोदन गरेपछि गौतम उपाध्यक्ष बन्नुहुनेछ । यसअघि स्थायी कमिटीले अनुमोदन गरिसकेको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र दाहालको राजनीतिक प्रतिवेदन, विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । महासचिव विष्णुप्रसाद पौडेलद्वारा सचिवालय बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावलाई प्राप्त सुझाव र धारणाका आधारमा अन्तिम रुप दिई केन्द्रीय कमिटी बैठकमा पारित गरिनेछ । संशोधित विधान प्रस्तावनामा पार्टीको नीतिगत कार्यक्रम समाजवादोन्मुख जनवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद हुने उल्लेख छ ।
बैठक पार्टीलाई क्रियाशील बनाउनका लागि अभियानमा मुख्यतया केन्द्रित हुनेछ । “प्रदेश, जिल्ला र स्थानीय तहलाई चलायमान बनाउनका लागि अभियान आवश्यक रहेको छ”, विष्णु रिजालले भने, “अभियानलाई कसरी सञ्चालन गर्ने भन्ने निर्णय बैठकले गर्नेछ ।” दुई पार्टी मिलेर बनेको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रायः केन्द्रीय सदस्यबीच एकापसमा समेत भेटघाट भएको छैन । सो बैठकले दुई पार्टीका नेतालाई घुलमिल गराउनसमेत सहयोग मिल्ने विश्वास गरिएको छ । बैठकमा केन्द्रीय कमिटीबाहेक विभिन्न आयोगका अध्यक्ष समेतको सहभागिता हुनेछ ।

रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू