(काठमाडौं) – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्री ओलिले सरकार संचालनको क्रममा भएका कमजोरी प्रती आत्मआलोचना गरेका थिए । ‘उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने ।
बैठकमा नेताहरुले पार्टी भित्रका पछिल्ला कमिकमजोरीप्रति आत्मआलोचनासमेत गरेका छन् । अर्को सचिवालय बैठक वैशाख २४ गते बस्ने गरी आजको बैठक स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
नेपाल दाहाल समुहको एजेन्डाको रूपमा रहेको स्थायी समिति बैठक बैशाख २५ गते बस्ने निर्णय भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।