काठमाडौं – कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकको नेतृत्व गर्ने नेताहरूमा राष्ट्र र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ हावी भएको बताएका हुन् ।
पछिल्लो समय नेताहरूमा मात्रै नभएर सरकार,संसद,न्यायालय,राज्यका संवैधानिक निकायहरू समेत संविधानले तय गरेको गन्तव्य, मूल्य र मान्यता छाडेर व्यक्तिगत स्वार्थ हावी भएको उनले दाबी गरे। उनले राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी हुँदा मुलुकमा विभिन्न समस्या उत्पन्न भएको बताए ।
कांग्रेसभित्रको अवस्थामा अहिलेकै निरन्तरतामा चल्ने हो भने २०५८ सालतिरको अवस्था हुने नेता सिटौलाको भनाइ छ । उनले एक पटक कांग्रेसले देशमा आम जनताले चाहेको जस्तो देश बनाउने बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्ने बताए ।