नेतृतवबाट ओली हटेपछि एमालेभित्र शान्ति स्थापित हुन्छ – घनश्याम भुसाल

61

काठमाडौं – एमालेको नेतृतवबाट हट्न अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले बताएका छन् । एमालेभित्र नेताहरूमा उकुसमुकुस बढेकाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेतृत्व छोड्नुपर्ने भुसालको सुझाव छ ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै भुसालले नेतृतवबाट ओली हटेपछि एमालेभित्र शान्ति स्थापित हुने बताए । ‘एमाले हामीले लडेर बनाएको पार्टी हो । त्यहाँ तमाम साथीहरू छन्, अहिले उकुसमुकुसमा छन् । भनेका छैनन् । यो घटना जसरी घट्दैछ । यसले एमालेभित्र यो समस्या अझै बढ्नेछ,’ उनले भने, ‘कमरेड ओलीको प्रयोग असफल भइसकेको छ । निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा उहाँको प्रयोग असफल भयो । उहाँले त्यहाँ छोड्नु उहाँका लागि र हाम्रो लोकतन्त्रका लागि सबैभन्दा राम्रो कुरा हुन्थ्यो ।’

भीम रावललाई एमालेले निष्कासन गरेको विषयमा भुसालले प्रश्न उठाएपछि सजाय भोग्नुपर्ने अवस्था रहेको बताए । ‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो । एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ । त्यतिखेर व्यक्तिगत विरोध, प्रतिशोधका रुपमा लिइयो । कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन् । जसले चाकरी गर्दैन त्यो शत्रु होइन, शत्रु होइन भने त्यसले चाकरी गर्छ,’ भुसालले भने, ‘उहाँको आम रुपमा संसारलाई हेर्ने दृष्टिकोण त्यस्तो छ । भीम रावलले चाकरी गरेनन् ।’

भुसालले रावललाई एकीकृत समाजवादी पार्टीमा सहभागी हुने आह्वान गरेका छन् ।

समाचार वर्गहरू