(काठमाडौं) – लमजुङ तिरकी एक चेलीले रैथाने भाकाहालेर कुनै समय सुनाएको विरह वेदनामा आधारित गीत नेपथ्यले नयाँ भिडियोका साथ सार्वजनिक गरेको छ ।
शिरमा रिबन सालको पछ्यौरी
हिरा जस्तो झललल
सम्झिरहने त्यो मुहार
अब मैले बिर्सूं कसरी
ब्याण्डले पछिल्लो समय तयार पारेको यस गीतलाई पहिलोपटक भिडियोका साथ सार्वजनिक गरेको हो । ‘मैले हुँर्कने बेलामै आमाबाट यो भाका सुनेको थिएँ,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘आमाले लमजुङ तिरको भाका भनेर गुनगुनाउनु भएको यसलाई पछि मैले पोखरामा पनि केहि ठाउँमा सुनेको याद छ ।
’धेरै वर्षपछि आफू लमजुङ पसगाउँ जाँदा त्यही भाकामा एउटी चेलीले गाउँदा भने त्यसले आफ्नो मर्ममै छोएको गुरुङ सुनाउँछन् । त्यो रात आमा समूहको सांगीतिक टोली लालटिन बोकेरै नाचगान देखाउन आइपुगेको थियो ।
‘लोकगीतले डाँडा–काँडा, गाउँ–बेँसीको यात्रा गर्छ र त्यो यात्रासँगै आफूलाई फेर्दै पनि लैजान्छ’ भन्ने प्रचलित भनाइ नै छ । यसरी फेरिँदा आफूले उक्लेको डाँडा वा तरेका नदीहरुको स्वाद यसका भाकाहरुमा मिसिन्छन् । हो, त्यसरी नै मैले त्यो रात सुनेको यहि गीतको भाकामा केहि फेरबदल थियो,’ गुरुङले थपे, ‘त्यस बाहेक गीतका शब्दहरु एक किशोरीको स्वरबाट भित्रैदेखि मन छुने गरि निस्किरहेको थियो।’
पानी है पर्यो
कहाँपर्योत्यो बूँद
डाँडा काँडा सररर
रसायो म रुँदा
शिरमा रिबन सालको पछ्यौरी
ती किशोरीले भित्री हृदयबाटै गाएको देखेपछि उनका बारेमा गायक गुरुङले जिज्ञासा राखेछन् । भर्खर बिहे गरेकी ती किशोरी पतिको घरबाट निकालिएपछि माइती आएर बसिरहेको बताईन ।
‘ती चेलीले कसरी त्यति मिठो गाइन भन्ने रहस्य मेरो अगाडि स्पष्ट भयो,’ गुरुङ भन्छन्, ‘त्यसपछि मैले उनको भावनामै डुबेर गीतका शब्दलाई परिमार्जन गर्दै मुखडा बाहेकका अन्तराहरु तयार पारेको हुँ ।’
समीको छेउ छेउ
पिपलु र वर पनि
वालखैमा धररर
बिग्रियो घर पनि
शिरमा रिबन सालको पछ्यौरी
गीतको यहि ‘मुखडा’ र यस्तै भाका लमजुङ, कास्की, स्याङजा र गुरुङ बसोबासका अन्य क्षेत्रतिर अत्यधिक प्रचलनमा रहेको उनले जानकारी दिए । ब्याण्डले कालिकास्थानको नेपालयस्थित आर शालामा यो गीत रेकर्ड गरेको हो ।