(काठमाडौं) – नेपथ्यको कन्सर्ट जानुका पछाडि दर्शकहरुको एउटै उद्देश्य हुने गर्छ, आफ्नो प्रिय लोकरक ब्याण्डको संगीत सुनेर रमाउनु । तर, आगामी फागुन १७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने कन्सर्टका सहभागीहरुले नेपथ्यसँग रमाइलो मात्र गर्ने छैनन् ।
भूकम्पले भत्किएपछि अहिलेसम्मै निर्माणाधिन अवस्थामा रहेको दोलखाको एउटा सरकारी स्कूल त्यहि टिकटको पैसाले उभिने छ । सम्पूर्ण रकम विद्यालय निर्माणमा समर्पित गरिने यस कन्सर्टलाई ‘शिक्षाको लागि संगीत’ नाम दिइएको छ ।
नेपालीहरुलाई परोपकारका निम्ति प्रेरित गर्दै आएको ‘हेल्प नेपाल नेटवर्क’ सँग मिलेर गर्न लागिएको कन्सर्टबाट उठेको रकम भिमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन निर्माणार्थ उपयोग गरिनेछ । २०७२ सालको विनाशकारी भूकम्पका बेला नेपथ्य ब्याण्डले प्रधानमन्त्री राहत कोषमा दुई पटक गरेर दश लाख रुपैयाँ र विदेशका केहि कन्सर्टहरुबाट उठेको रकम समेत उतैबाट समर्पित गरेर चालिस लाख रुपैयाँको योगदान दिएको थियो । त्यसैको निरन्तरता यो कन्सर्ट पनि भएको जानकारी ब्याण्डको व्यवस्थापन गर्दैआएका किरणकृष्ण श्रेष्ठले दिए ।
ब्याण्डले भूकम्प लगत्तै अष्ट्रेलियाको मेलबर्न, जापानको टोकियो र संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित कन्सर्टबाट उठेको रकमलाई भूकम्प पीडितहरुकै सहयोगार्थ समर्पित गरेको थियो ।
‘संगीतले जगतलाई आत्मा, सोचाइलाई पखेटा, कल्पनाहरुलाई उडान र प्रत्येक कुरालाई जीवन्तता प्रदान गर्छ भन्ने भनाइ नै छ,’ हेल्प नेपाल नेटवर्कका निर्देशक रोशेन्द्रध्वज खड्का भन्छन्, ‘हामीसँगको सहकार्यमा नेपथ्यको आगामी कन्सर्टले केटाकेटीहरुको सपनालाई पखेटा, ती साना आत्माहरुलाई आशा र दोलखालाई जीवन्तता प्रदान गर्नेभएको छ ।’
पूर्णतया स्वयंसेवाको भावले चलेको ‘हेल्प नेपाल नेटवर्क’ नेपालकै वृहद्मध्येको परोपकारी संस्था हो । मुलुकको ग्रामीण भेगमा स्वास्थ्य, शिक्षा र दैवी प्रकोपका क्षेत्रमा यस संस्थाले आफूलाई संलग्न गराउँदै आएको छ । स्वदेश तथा विदेसमा रहेका नेपालीहरुलाई मर्का नपर्ने गरी उनीहरुको फुटकर खर्चबाटै परोपकार कार्यलाई अघि बढाउँदै आएको यस संस्थाले यसपटक पनि नेपथ्यको संगीतमा गरिने लगानीबाट स्कूल भवन निर्माणको परिकल्पना अघिसारेको खड्का बताउँछन् ।
“नेपथ्यसँग सहकार्य गरी ‘शिक्षाका लागि संगीत’ कार्यक्रम आयोजन गर्न पाउंदा हामी अत्यन्तै खुसी छौं । दर्शक, श्रोताहरुको सहभागिता र सहयोग दोलखाका बालबालिकाको शैक्षिक भविष्य उज्यालो तुल्याउन निकै महत्वपूर्ण हुनेछ” हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले भने ।
दोलखाको त्यस सरकारी स्कूल पुनःनिर्माण कार्यको २०७३ चैत १५ गते नै औपचारिक उद्घाटन भएता पनि यो अझै निर्माणाधिन अवस्थामा छ । स्वीकृति प्राप्त डिजाइन मुताबिक यो स्कुल भवन बनेपछि यसबाट तीन सय जना विद्यार्थीले भूकम्प प्रतिरोधी भवनमा पढ्ने अवसर पाउने छन् । आधारभूत सुविधाहरुले युक्त यो भवन परम्परागत नेपाली ढाँचामा बन्दैछ ।
‘नेपथ्यले आफूलाई मनोरन्जनमा मात्र सीमित नराखेर सामाजिक दायित्वका क्षेत्रमा पनि धेरै अघिदेखि अग्रस्थानमा उभ्याउँदै आएको छ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘स–साना नानीहरुका आधारभूत शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने यो कन्सर्टमा गाउन पाउनुलाई मैले गौरवको रुपमा लिएको छु ।’ आगामी फागुनको १७ गते अर्थात् फेब्रुअरी २९ तारिख शनिबारको दिन भृकुटीमण्डपको बगैँचामा आयोजना हुने उक्त कन्सर्टका लागि अनलाइन मार्फत बुकिंग सुरु भइसकेको छ ।