काठमाडौं – प्रतिनिधीसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको भन्दै बाँकी जिल्ला अर्को देशलाई लिजमा दिनुपर्ने अभिव्यक्ति राखेपछि सदनमा लफडा भएको छ ।
बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा सिंहले बजेट नजाने जिल्ला नेपालमा किन राख्ने ? प्रश्न गर्दै ७२ जिल्ला चीन, अमेरिका भारतलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सिंहको त्यो भनाइमा नियमापत्ति जनाउँदै राष्ट्रघाती अभिव्यक्ति दिएकोमा सिंहलाई कारबाही गर्न माग गरे ।
‘देशलाई अन्यत्र गाभौं भन्ने देशद्रोही अभिव्यक्ति । सार्वभौमिकता, अखण्डताविरोधी भनाइ राख्नेलाई कारबाही गर्नुपर्छ । विगतमा पनि उहाँको अभिव्यक्ति राम्रो छैन । हामी राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सक्दैनौं । कारबाहीको विषय बनाइयोस्’, बर्तौलाले भने ।
सत्ताधारी सांसदले अमरेशमाथि कारबाहीको माग गरेपछि सभामुख देवराज घिमिरेले सिंहको उक्त भनाइ रेकर्डबाट हटाउन निर्देशनात्मक आदेश दिएका थिए ।