(काठमाडौं) – नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ सय २३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ हजार ८५ जना पुगेको हो ।
मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ३२३ जनामा संक्रमण देखिएको बताए ।
मन्त्रालयका अनुसार संक्रमित हुनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना रहेका छन् ।
त्यसैगरी महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जनामा संक्रमण देखिएको छ ।
मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।
संक्रमित मध्ये २ सय ९२ जना पुरुष र ३१ जना महिला छन् । नेपालमा हालसम्म ५८४ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ९६ जना डिस्चार्ज भएका हुन् ।
त्यस्तै कोरोनाका कारण अहिलेसम्म १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ६ हजार ३३१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।