नेपालमा भ्रष्टाचार घट्यो : ट्रान्सपरेन्सी इन्टरनेशनल

24

रासस/काठमाडौं – नेपालले भ्रष्टाचार नगर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज (बिहीबार) सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले तीन स्थानमाथि गई सुधार गरेको देखिएको हो ।
विश्वका १८० देश रहेको सूचीमा कूल १०० अङ्कमध्ये ३४ अङ्क प्राप्त गरी नेपाल ११३ औँ स्थानमा परेको छ । सन् २०१८ मा नेपाल ३१ अङ्कसहित १२४ औँ स्थानमा थियो । विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भिडिइएमसमेत गरी छ संस्थाका सर्वेक्षणका आधारमा नेपालले सुधार गरेको देखिएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष डेलिया फरेरा रुवियोका अनुसार सरकारी तहमा हुने भ्रष्टचारबाट आजित जनतामा राज्यका निकायप्रतिको गिर्दो विश्वास घटाउन राजनीतिक सदाचारतर्फ उन्मुख हुनुपर्ने देखिएको छ । दलको चुनावी खर्चमा चन्दा र सहयोगबाट सिर्जना हुने भ्रष्टाचार तथा राजनीतिक व्यवस्थामा पर्ने पैसाको प्रभाव अन्त्य गर्नुपर्ने देखिएको सो अवधारणामा उल्लेख छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव मुकुन्द प्रधानका अनुसार सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टचार विरोधी निकायको कारवाही, न्यायपालिकाका काम कारवाही, कर असुली सम्बन्धित विषय, सुरक्षा निकाय खासगरी नेपाली सेनामा सदाचारको पहललगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणले नेपालको सुधार भएको हो ।

सन् २०१९ मा विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा परेको डेनमार्कले ८७ अङ्क प्राप्त गरेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने देश सोमालियाले ९ अङ्क प्राप्त गरेको छ । दक्षिण एशियामा सबैभन्दा कम भ्रष्टाचार गर्ने देशमा भूटान परेको छ । भूटानले ६८ अङ्क प्राप्त गरी २५औँ स्थानमा छ । भारत र चीन समान ४१ अङ्क प्राप्त गरी ८० औँ स्थानमा परेका छन् ।

समाचार वर्गहरू