नेपालमा मौलाउँदै गएको वलात्कार र नियण्त्रणका प्रयास हरु

27

पृथ्वी भुजेल – विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा दिनहँु आएका बलात्कारका घटनाले मन छिया-छिया पार्छ । यस्ता समाचारले मानव मनलाई एक पटक घोत्लिन विवश गराउँछ । बलात्कारीहरू अपराधी हुन् र तिनलाई कानुन बमोजिम कारवाही हुनुपर्छ । तर अफसोच, अपवादबाहेक अपराधीलाई कानुनको कठघरामा ल्याउनु देशको अपराध नियन्त्रणको बागडोर सम्हालेको नेपाल प्रहरीलाई ढुङ्गाको चिउरा चपाउनु सरह भएको छ ।

आजको समाजमा एक अबोध बालिकामाथि बलात्कार हुनु लज्जाको विषय हो । योभन्दा लज्जास्पद पीडकलाई कानुनको दायरामा नल्याउनु हो । के हामी सधैँ एक चेली बलात्कृत भएको घटना सुन्दै अनि पीडितले न्याय नपाएको हेर्दै बस्नुपर्ने हो ? आखिर कहिलेसम्म ? समाजमा इज्जत जाला ,भोलि छोरीको विवाह गर्न गाह्रो होला जस्ता गलत सोचले पनि यस्ता घटना गुपचुपमै राखिन्छन् । पीडितलाई नै दोषी देखाईन्छ जसको कारणले पनि समाजमा बलात्कारका घटनाहरू बाहिर आउँदैनन् र अपराधीहरूलाई हौसला मिल्दछ ।त्यसै गरी बलात्कार घटनामा पुरुष नै संलग्न हुनुका पछाडि सामाजिक मानसिकता, पुरुषमानसिकताले बढी मात्रामा घर गरेको हुन्छ । जसको कारण परापूर्वकालदेखि समाजमा बलात्कारका घटना भइरहेका छन्। पछिल्लो समयमा किशोरी तथा महिला सचेत हुँदै गएकाले बलात्कारजन्य घटनाको तथ्याङ्क बाहिर आएको हो।

घटना बाहिर ल्याउन सामाजिक सञ्जाल तथा एफएम रेडियोजस्ता मिडियाले भूमिका खेलेका छन्। एक डेढ दशक सम्म गाउँमै मेलमिलाप गराइन्थ्यो । एकल परिवार, एउटै कोठामा सबै जना सुत्नुपर्ने बाध्यता, सूचना प्रविधिको गलत प्रयोग भएकाले पनि बलात्कारका घटना बढ्ने गरेका छन्। मनोवैज्ञानिकहरुको विश्लेषणमा बलात्कार गर्ने समूहले जहिले पनि सानो उमेर र प्रतिकार गर्न नसक्ने समूहलाई लक्षित गरेका हुन्छन् । सामाजिक रूपमा प्रतिकार गर्न नसक्ने न्याय खोज्न नसक्ने बालिका, विपन्न, दलित वर्गमा बलात्कारीको नजर परेको देखिन्छ । विद्यालय तहदेखि बालबालिकालाई यौन शिक्षा, बलात्कारका विषयमा शिक्षा दिए,दोषीउपर कडा सजाय व्यवस्था गरे र सजायका घटना मिडियाले उजागर गरे, प्रविधिको दुरुपयोग नियन्त्रण गर्न सके बलात्कार कमी गर्न सकिन्छ ।

नेपालमा विकसित राष्ट्रकै जस्तो प्रविधि सबैको पहुँचमा हुनु प्रविधिमा हुने गलत मनोरञ्जनको पहुँचले यौनको विषयमा विकृति थपिँदै जानु तर यौनलाई बुझ्ने दृष्टिकोण पुरानै हुनुले यस्ता घटनालाई बढावा दिएको छ । कानुन र सजाय कमजोर रहेकाले पनि यस्तो घटना रोकिन नसकेको कतिपय जानकारहरू बताउँछन् । एक डेढ दशक अघिसम्म गरिब अभिभावकलाई आर्थिक प्रलोभनमा पारेर घटनालाई छोपछाप पारिन्थ्यो भने कतिपयले विवाह नै गरिदिने चलन थियो । परिवार तथा समाजमा महिलाले सम्मान नपाउने र उनीहरूको कुरा नसुनिने सामाजिक चलनले पनि बलात्कारलाई नजानिँदो तरिकाले मलजल गरेको देखिन्छ ।

अर्कोतिर पुरुषमा सानैदेखि महिला कमजोर हुन् भन्ने मानसिकता विकास हुन्छ । परिवार, समाजमा महिलाले सम्मान नपाउनु, हेलाको व्यवहार गर्नु जस्ता व्यवहारले पुरुषमा महिलाप्रति गलत भावनाको विकास हुनगई पछि गएर बलात्कारमा सहभागी हुन पुरुषलाई हौस्याईरहेको देखिन्छ । परिवारमा महिलाको सम्मान कहिले पनि नभएको देखेको पुरुष वा महिला बलात्कार गर्ने र हुनेमा बढी देखिएको मनोवैज्ञानिकहरु बताउँछन् ।

त्यसै गरी बलात्कारमा संलग्न कतिपय पुरुष भने आफैँ यौन शोषण, घरेलु हिंसामा परेका तथा मानसिक स्वास्थ्य ठिक नभएका हुने गरेको तथ्यांकहरुले देखाएका छन् ।
नेपाली समाजमा पुरुषको सामाजिकिकरण नै गलत भएको कतिपय विद्वानहरूको तर्क छ । शारीरिक यातना दिन सक्ने पुरुषलाई साहसी पुरुष को संज्ञा हाम्रो समाजले दिने भएको कारण पनि समाजमा बलात्कारले प्रश्रय पाएको देखिन्छ । परम्परागत समाजमा श्रीमतीलाई कुटेर ठिक पार्नुपर्छ भन्नेहरूको कमी छैन । यसले पनि पुरुषहरूलाई बलात्कारी बन्न उक्साएको देखिन्छ । महिलाहरूले नै आफ्ना दाईभाईलाई “एउटी आइमाईलाई तह लगाउन नसक्ने पनि के मर्द रु ” भन्ने गरेको सुनिन्छ ।
समग्रमा हाम्रो समाजको परम्परागत सामन्ती मान्यता , जसले पुरुषवादी मान्यतालाई मलजल दिएको छ त्यसलाई बदल्न जरुरी छ । सूचना प्रविधिको सही प्रयोग , कानुनी कमजोरीहरूको न्यूनीकरण , घरपरिवारबाटै महिलालाई सम्मानजनक व्यवहारका साथै आत्मरक्षाका लागि शारीरिक अभ्यास जस्ता कुराहरूमा ध्यान दिन सके धेरै हदसम्म बलात्कारका घटनाहरूलाई न्यूनीकरण गर्न सकिन्छ

समाचार वर्गहरू