नेपालमा समलिंगी महिलाको विवाहलाई पहिलो पटक कानुनी मान्यता

22

काठमाडौं – बर्दियाको बढैयाताल गाउँपालिका–२ ले समलिंगी (लेस्बियन) जोडीको विवाह दर्ता गरेको छ ।

बढैयाताल–२ की अञ्जुदेवी श्रेष्ठ (दीप्ति) र गण्डकी बन्दीपुर गाउँपालिका–५ की सुप्रिता गुरुङको विवाहलाई वडाले कानुनी मान्यता दिएको हो । ३३ वर्षका उनीहरू पाँच वर्षदेखि आपसी सम्बन्धमा थिए । 

सोमबार बिहे दर्तापछि उनीहरूले नेपालगन्जस्थित यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको क्षेत्रमा कार्यरत संस्था पश्चिम तारा नेपालको कार्यालयमा पुगेर खुसी साटासाट गरेका थिए ।

स्थानीय पञ्जिकाधिकारी एवं वडा सचिव दीपक नेपालीले समलिंगी विवाह दर्ता गरिएको बताए । ‘दर्ता गर्ने र प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी आयो,’ उनले भने, ‘समलिंगी महिलाको विवाह दर्ता भएको यो पहिलो हो ।’

मुलुकी देवानी संहिता, २०७४ ले व्यक्तिलाई कानुनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुने व्यवस्था गरेको छ । गत असार १२ मा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यौनिक तथा लैंगिक अल्पसंख्यक जोडीको विवाह दर्ता गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेशपछि लमजुङको दोर्दी गाउँपालिका–२ सल्लाबोटकी ३७ वर्षकी माया भनेर चिनिने रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका–८ का २७ वर्षीय सुरेन्द्र पाण्डेको विवाहलाई गत मंसिरमा वडा कार्यालयले कानुनी मान्यता दिएको थियो । नेपालमा मात्रै होइन, दक्षिण एसियामै समलिंगी जोडीको विवाहले कानुनी मान्यता पाएको यो नै पहिलो हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू