नेपालमै चट्टान तथा सुरुङ इञ्जिनियरिङ पढाई हुने

13

रासस, (पोखरा) –  इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौरमा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनियरिङ विषयको अध्यापन हुने भएको छ ।

पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित जनशक्तिको अभाव छ । आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले चट्टान तथा सुरुङ विषयमा स्नातकोत्तर तहमा अध्यापन शुरु गर्ने तयारी गरिएको हो ।

गण्डकी प्रदेश सरकार र नर्वेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी (एनटिएनयु) विश्वविद्यालयको सहयोगमा स्नातकोत्तर तहमा आगामी शैक्षिकसत्र वैशाख १७ गतेदेखि अध्यापन गर्ने लक्ष्य अनुसार पाठ्यक्रम तयार गरिएको क्याम्पस प्रमुख रामप्रसाद पौडेलले बताए ।

पाठ्यक्रम तयार गर्नका लागि क्याम्पसले शुक्रबार र शनिबार गरी दुई दिन यस विषयमा विशेषज्ञता हासिल गरेका प्राज्ञ र वैज्ञानिकको सम्मेलन आयोजना गरी इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातकोत्तर तहको पाठ्यक्रमको प्रारम्भिक ढाँचा तयार गरेको छ । प्रमुख पौडेलले भने, ‘सुरुङ इञ्जिनियरिङको अध्यापन देशका लागि आवश्यक भइसक्यो । दुई दिनको कार्यशालाबाट पाठ्यक्रम तयार गरेर आगामी शैक्षिकसत्रबाट कक्षा सञ्चालन गर्ने योजनामा छौँ ।’

तयार पारिएको पाठ्यक्रम अध्ययन संस्थानले स्वीकृत गरेसँगै पठनपाठनका लागि बाटो खुला हुने इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत सिभिल इञ्जिनियरिङ विषय समितिका अध्यक्ष प्रा डा नरेन्द्रमान शाक्यले जानकारी दिए ।

उनकाअनुसार नेपालमा ब्याचलर अफ सिभिल इञ्जिनियरिङको कोर्षमा टनेल इञ्जिनियरिङ विषय अध्यापन हुने भएपनि स्नातकोत्तर तहमा यस विषयलाई मात्र समेटर अध्यापनको कार्य पहिलो हो ।

प्रस्तावित पाठ्यक्रममा भौगोलिक अवस्थाको अन्वेषण, टनेल डिजाइन, कन्स्ट्रक्सन, सञ्चालन, मर्मत तथा सुरक्षा लगायतका विषय समेटिएको बताइन्छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा टनेल इञ्जिनियरिङ विषय अध्यापनका लागि पाठ्यक्रम तयार गर्ने उद्देश्यले १० लाख बजेट विनियोजन गरेको थियो ।

पोखरा सहित काठमाडौँको पुल्चोक क्याम्पसमा पहिलो ब्याचमा २०/२० जना विद्यार्थी राखेर टनेल इञ्जिनियरिङ विषय अध्यापन गरिने शाक्यले जानकारी दिए । एनटिएनयुका प्रा डा. कृष्णकान्त पन्थीले आफूहरु इञ्जिनियरिङ अध्ययन संस्थानसँग सहकार्य गरेर कार्यक्रम अघि बढाउन चाहेको उल्लेख गरे । त्यसका लागि पाठ्यक्रम तयार, कक्षा तथा प्रयोगशाला स्थापना लगायतका पक्षमा सहयोग प्रदान गरिने उनले स्पष्ट पारे ।

समाचार वर्गहरू