रासस/धरान – चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको आरक्षमा पछिल्लो समय ‘सेतो पेटे रानी चरी’ नामक प्रजातिको चरा फेला परेको हो ।
विश्वमै दुर्लभ मानिने उक्त चरा नेपालको कोशी टप्पुमा फेला परेको कोशी टप्पु बर्ड वाचिङ क्याम्पका सञ्चालक कुरवान मन्सुरीले जानकारी दिए । नेपाली नाम ‘सेतो पेटे रानी चरी’ र अङ्ग्रेजी नाम ‘एसी मेनीभेट’ रहेको चरा विज्ञ डा हेमसागर बरालले जानकारी दिए ।
‘नयाँ प्रजाति’ भनेर प्रचार गरिए पनि उक्त चरा सन् २०११ नोभेम्बर १९ मा चरा विज्ञ बद्री चौधरीलगायतले रेकर्ड गरेका थिए । भारतबाट आएको रैथाने उक्त चरा दुर्लभभन्दा पनि कम देखिने चरामा पर्ने चरा विज्ञ डा बरालले बतए । त्यसबेला दुई प्रजाति ‘एसी मेनिभेट’ र ‘सुइनोज मेनिभेट’ प्रजाति रेकर्ड भएका थिए । त्यसपछि हालसम्म फेला परेको थिएन ।
आरक्षणमा चीन, रसिया, पाकिस्तान, बङ्लादेश, भारत, भूटानबाट कोशीटप्पुमा चरा आउने गर्छन् । नेपालमा पाइने जम्मा ८८६ प्रजातिमध्ये ५२६ प्रजाति अर्थात् ५९ प्रतिशत चरा कोशीटप्पुमा मात्रै पाइन्छ ।