काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको नाम सहमतिका लागि प्रस्ताव गर्न भन्दै सोमबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सहमहामन्त्री तथा दलको नेता निर्वाचनका लागि बनाइएको निर्वाचन समितिका संयोजक प्रकाश स्नेही रसाइलीले पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाइएको र त्यो बैठकमा सभापति गगन थापाले दलको नेतामा सहमतिका लागि नाम प्रस्तुत गर्ने जानकारी दिए ।
‘सोमबार बिहान ११ बजे कार्यसम्पादन समिति बैठक आह्वान भएको छ । त्यो बैठकमा सभापतिज्यूले दलको नेता सहमतिमा चयन गर्न नाम प्रस्ताव गर्नुहुन्छ,’ रसाइलीले भने, ‘कार्यसम्पादन समितिमा सहमति गरेपछि १ बजे दलको बैठक बसेर अनुमोदन गर्छौँ । भोलि हाम्रो संसदीय दलले नेता पाउँछ ।’ कांग्रेसमा दलको नेताका लागि ३ जनाले दाबी गरिरहेका छन् । अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यले दलको नेतामा दाबी गरिरहेका छन् ।
गत शुक्रबार दलको नेता निर्वाचनका लागि रसाइली नेतृत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसदिन अन्तिम समयमा आएर निर्वाचन प्रक्रिया स्थगित गर्दै उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा अर्की उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिमा ३ जना रहनेगरी दलको नेताका लागि सहमति गर्ने समिति बनाइएको थियो ।
समिति सदस्य भुसालका अनुसार समितिले नेतामा आकांक्षीहरूसँग व्यक्तिगत र सामूहिक छलफल गरेर सहमति जुटाउने प्रयास गरेको थियो । ‘हामीलाई दलको नेतामा सहमति जुटाउनका लागि जिम्मेवारी दिइएको थियो । हामीले नेतामा आकांक्षा राखेका साथीहरूसँग व्यक्तिगत र समूहगत रूपमा छलफल जुटाउने प्रयास ग¥यौँ,’ उपसभापति भुसालले रातोपाटीसँग भनिन्, ‘हामीले छलफलमा पाएको निष्कर्ष सभापतिसमक्ष प्रस्तुत गरेका छौँ ।
त्यही निष्कर्षका आधारमा सभापतिले कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ । त्यहाँबाट निष्कर्ष निस्कनेमा विश्वस्त छौँ ।’ कसलाई नेता बनाउने हो भन्ने विषयमा सहमति समितिले जुटाएको हो भन्ने प्रश्नमा उपसभापति भुसालले भनिन्, ‘हामीले कसको कन्डिसन के भन्ने सभापतिलाई ब्रिफिङ गरेका छौँ । उहाँले मिलाएर प्रस्तुत गर्नुहोला ।’ यसैबिच दलको नेताका लागि सार्वजनिक रूपमै दाबी प्रस्तुत गरिरहेका अर्जुननरसिंह केसीले भने संसदीय दलको नेतामा आफू निर्वाचन नलड्ने प्रतिक्रिया दिए ।
केसीले सहमतिमा नेता बनाउने भए वरिष्ठ र अनुभवका आधारमा दाबी राखेको तर, निर्वाचन भने नलड्ने प्रतिक्रिया दिएका हुन् । ‘म संसदीय दलको नेतामा निर्वाचन लड्दिनँ । म सांसद भएर आएपछि नै भन्दै आएको छु,’ केसीले रातोपाटीसँग भने, ‘मेरा कारणले दलको नेता चयन गर्न ढिलाइ भएको भनेर बाहिर ल्याउने काम भइरहेको छ । त्यो होइन । यस विषयमा मैले नेतृत्वलाई पहिलादेखि नै भन्दै आएको छु ।’
उनले दलको नेतामा सहमति गर्दा निश्चित मापदण्ड बनाएर गर्न पनि नेतृत्वलाई आग्रह गरे । आफूले कर्णालीको महिला, युवा र प्रत्यक्ष निर्वाचित महिला वासना थापालाई दलको नेता बनाउने भए आफू प्रस्तावक बस्न तयार रहेको पनि केसीले बताए । केसीले सहमति नहुने भएपछि रेसबाट बाहिरिएपछि अब प्रतिस्पर्धामा २ जना छन् । ती दुई जनामध्ये एक जनालाई सहमतिमा दलको नेता बनाउने प्रस्ताव सभापतिले पेस गर्ने नेताहरू बताउँछन् ।
सभापति थापाको चाहना केसी नभएपछि प्रत्यक्ष निर्वाचित मोहन आचार्यलाई दलको नेता बनाउने छ । तर, उपसभापति शर्मा भने आङदेम्बेलाई बनाउने पक्षमा देखिएका छन् । शर्माले आङ्देम्बेलाई बनाएपछि निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पनि समेटिने बनाउँदै आएका नेताहरू बताउँछन् ।
डा. कोइरालाले शुक्रबार बिहान सभापति थापालाई टेलिफोन गरेर सहमतिमा सिनियर नेतालाई सहमतिमा नेता चयन गर्न सुझाएका थिए । डा. कोइरालाको सचिवालयका अनुसार पार्टीको सिट घटेर खुम्चिएको अवस्थामा पनि दलको नेता चयनमा विलम्ब हुँदा बाहिर राम्रो सन्देश नभएको सभापति थापालाई बताएका थिए ।