काठमाडौं – विमानस्थलबाटै बाहिरिएको तस्करीको ६० केजी सुन अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप एक चिनियाँ नागरिकलाई पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ गरेको छ ।
सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार कुङ्गा टासी शेर्पा भनिने गेङ्गा शाशी पक्राउ परेका हुन् । उनीसँग नेपाली नागरिकता र सोही नागरिकता प्रयोग गरी बनाएको सवारी अनुमतिपत्र (लाइसेन्स)समेत फेला परेको उनले बताए ।
बोगटीले भने, ‘६० केजी सुन तस्करी अनुसन्धानका क्रममा अर्का चिनियाँ नागरिक कुङ्गा टासी शेर्पा भनिने गेङ्गा शाशी पक्राउ परेका छन् । उनको साथबाट मेड इन जर्मनी लेखिएको माउजर र ६ राउन्ड गोली भेटिएको छ । उनीसँग नेपाली नागरिकता र सोही नाममा जारी भएको सवारीचालक अनुमतिपत्र पनि बरामद भएको छ ।’
सिआइबीका अनुसार सवारीचालक लाइसेन्समा बुबाको नाम आङ नोर्बु शेर्पा लेखिएको छ । २५ साउन ०५८ मा जारी भएको लाइसेन्समा ठेगाना काठमाडौं महानगरपालिका उल्लेख रहेको एसपी बोगटीले बताए ।
यसैक्रममा सुन तस्करी र क्रिप्टो तथा हुन्डी कारोबार गिरोहमा संलग्न थप दुई नेपाली पक्राउ परेका छन् । ब्रेकसुमा लुकाएर सुन तस्करी गर्ने गिरोहमाथि दोस्रो चरणमा चलिरहेको अनुसन्धानमा सिआइबीले चितवनका मनोज श्रेष्ठ र रूपक भण्डारीलाई पक्राउ गरेको हो ।
दोस्रो चरणको अनुसन्धानमा सिआइबीले हालसम्म दुई चिनियाँसहित २९ जनालाई पक्राउ गरिसकेको छ ।