नेपाली भाषा कमजोर हुने गरी अंग्रेजी भाषाको प्रयोग गर्नुहुँदैन : शिक्षामन्त्री

24

रासस/काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने गरी अंग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने बताएका छन् । विश्व निकेतन माध्यमिक विद्यालय काठमाडौँको ७४औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले दक्षिण एशियाको पुरानो भाषाका रुपमा रहेको नेपाली भाषालाई बलियो बनाउँदै अंग्रेजी भाषाको प्रयोगमा जोड दिनुपर्ने बताए ।

“अंग्रेजी मात्र होइन, चिनियाँलगायतका अन्य भाषाको सिकाइ र प्रयोग गर्दै जानुपर्छ” उनले भने, “अंग्रेजी भाषाको प्रयोग बढ्दै जाँदा नेपाली भाषा कमजोर बन्दै जाने सम्भावना बढेर गएको छ ।”

मन्त्री पोखरेलले शिक्षाले देशको समग्र विकासको खाका तयार पार्ने बताउँदै शिक्षा क्षेत्रको विकास बिना सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले सार्थकता पाउन नसक्ने उल्लेख गरे । उनले नयाँ–नयाँ प्रविधिको उपयोग गर्न नसके मुलुकले विकासमा फड्को मार्न नसक्ने औँल्याउँदै राज्यले प्रविधिमैत्री शिक्षामा जोड दिएको बताए ।

“पहिले/पहिले शिक्षक र पुस्तकलाई ज्ञानको केन्द्र मानिन्थ्यो,” उनले भने, “प्रविधिको विकाससँगै अहिलेका विद्यार्थीले इन्टरनेटको प्रयोगले आफैं पनि धेरै सिक्न थालेका छन् ।” सामुदायिक विद्यालयमा सिकाइ केन्द्रीत सुधारकोे आवश्यकता रहेकोमा उनले जोड दिए ।

समाचार वर्गहरू