नेपाली भूमि माथि हुने अतिक्रमण अस्वीकार्य : कांग्रेस

21

(काठमाडौं) – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कालापानी र लिपुलेक नेपालको अभिभाज्य भूमि रहेको भन्दै कुनै पनि किसिमको अतिक्रमण स्वीकार्य नहुने स्पष्ट पारेको छ । कांग्रेसले आज विज्ञप्ति जारी गरी कूटनीतिक माध्यमबाट विवाद टुङ्गयाउनुपर्ने उल्लेख गरेको छ ।

सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई टेलिफोन गरी त्यसबारे ध्यानाकर्षण गराएको समेत विज्ञप्तिमा उल्लेख छ । सीमा जस्तो महत्वपूर्ण विषयमा दल विशेषभन्दा माथि उठेर देशको साझा मत बनाउन आवश्यक रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा देउवाले ‘भारतको नयाँ नक्साबारेमा बिहीबार भारतीय राजदूत पुरीसँग टेलिफोन संवाद गरेको र कालापानी तथा लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराएको’ उल्लेख छ ।

‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भूमि माथि हुने कुनै पनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ’ कांग्रेसको विज्ञप्तिमा छ ।

कांग्रेसले समग्र मुलुकको साझा दृष्टिकोण बनाई कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न नेपाल सरकारलाई आग्रह गरेको छ । ‘यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने कांग्रेसको दृष्टिकोण छ’ विज्ञप्तिमा छ ।

समाचार वर्गहरू