नेपाली महिला भलिबल टोलीलाई राखेपले जनही ३ लाख रुपैयाँले दिने

12

(काठमाडौं) – प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता महिला भलिबल टिमलाई शुक्रबार त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

बंगलादेशको ढाकामा सम्पन्न फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजेता बनेको नेपाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल भलिबल संघले स्वागत गरेको हो ।

ऐतिहासिक पदक जित्ने महिला भलिबल टोलीलाई राष्ट्रिय खेलकुद परिषदले जनही ३ लाख रुपैयाँले पुरस्कृत गर्ने जनाएको छ ।

बंगलादेशमा हिजो सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै राखेप सदस्य सचिव रमेशकुमार सिलवालले यस्तो घोषणा गरेका हुन् ।

नेपाली महिला भलिबल टिमको प्रदर्शन निकै निखारिदो भएको कारण १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पनि स्वर्ण पदक जित्ने दाबी प्रशिक्षक जगदिश भट्टले गरे ।

टोलीले जितेको ऐतिहासिक पदकलाई सम्मान गर्न सरकार समक्ष प्रस्ताव लगिने सिलवालले बताए । सेन्ट्रल जोन विजेता टोलीमा १२ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापक छन् । नेपालले ५ राष्ट्र सम्मिलित प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको थियो । प्रतियोगिताभर नेपालले खेलेको सबै सेट आफ्नो पक्षमा पारेको थियो ।

अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, कमला पुन, रेश्मा भण्डारी, उषा विष्ट, सलिना श्रेष्ठ, सुनिता खड्का, निरुता ठगुन्ना, पुनम चन्द, सफिया पुन र जानकी भण्डारीछन् । टोलीको मुख्य प्रशिक्षक जगदीश भट्ट र प्रशिक्षकहरुमा सलिना श्रेष्ठ र भरत यादव छन् ।

समाचार वर्गहरू