काठमाडौं – नयाँदिल्लीमा भइरहेको प्रथम खो–खो विश्वकप प्रतियोगिताको फाइनलमा नेपालका महिला र पुरुष दुवै टिम पुगेका छन् । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो पहिलो पटक हो । दुवैतर्फको फाइनल आइतबार हुँदै छ ।
पुरुषतर्फ २० र महिलातर्फ १९ टिम सहभागी प्रतिस्पर्धामा नेपालका दुवै टिम फाइनलमा पुगेका हुन् । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा शनिबार भएको महिलातर्फको सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो ।
सरस्वती कडायतको कप्तानीमा उत्रेको नेपाली टिम ८९–१८ स्कोरमा विजयी भएको थियो । नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । सेमिफाइनलमा नेपालकी पूजा ओड बेस्ट प्लेयर भइन् भने बेस्ट डिफेन्डर दीपा विक चुनिइन् । युगान्डाकी नागवा डोरोथी बेस्ट एट्याकर भइन् ।
महिलातर्फ समूह चरणमा नेपालले जर्मनीलाई ७४–३४, भुटानलाई ८३–२४, श्रीलंकालाई ११०–१० र बंगलादेशलाई ८३–२४ ले हराएको थियो । समूह ‘सी’ विजेता बनेको नेपालले क्वाटरफाइनलमा इरानमाथि १०३–८ को जित पाएको थियो । शनिबारै भएको दोस्रो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई ६६–१६ स्कोरले हराएर नेपालसँग फाइनल प्रतिस्पर्धा पक्का गरेको छ ।
नेपाली महिला टोली फाइनल पुगेको केही घण्टापछि नेपाली पुरुष टोलीले फाइनल यात्रा तय गर्यो । सेमिफाइनलमा इरानलाई ७२–२० स्कोरमा पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।
पुरुषतर्फ समूह चरणमा भारतसँग ४२–३७ ले पराजित नेपालले पेरुलाई ८०–३४, ब्राजिललाई १३४–८ र भुटानलाई ९८–८ ले हराएको थियो । समूह ‘ए’ मा उपविजेता बनेको नेपालले क्वाटरफाइनलमा बंगलादेशलाई ६७–१८ ले हराएर अन्तिम चारमा स्थान बनाएको थियो । पुरुषतर्फ पनि नेपालले उपाधिका लागि भारतसँगै प्रतिस्पर्धा गर्नेछ । भारत पुरुषतर्फ पनि दक्षिण अफ्रिकालाई नै दोस्रो सेमिफाइनलमा ६२–४२ ले हराएर फाइनल पुगेको हो ।