काठमाडौं – बंगलादेशसँग दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम बिहीबार स्वदेश फर्केको छ । २५ खेलाडी र ११ अफिसियल गरी ३६ जनाको टोली मध्ये १ जना अफिसियल बाहेक टोलीका बाँकी सदस्य आज स्वदेश फर्किएका हुन् ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायत पदाधिकारीले स्वागत गरेका थिए । नेपालले मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
कोरोना सक्रमण पुष्टि भएपछि टोलीका ब्यवस्थापक मधुसुदन उपाध्यय भने ढाका मै आईसोलेसनमा बसेका छन् । नेपालले बंगलादेशमा खेलेका दुई खेलमध्ये पहिलोमा हार ब्यहोर्यो भने अर्को खेललाई बराबरीमा रोकेको थियो ।
७ महिनापछि मैदान उत्रिएको नेपाली टोलीले पहिलो मैत्रीपूर्ण खेलमा २–० को हार भोगेको थियो । दोस्रो खेलमा भने गोलरहित बराबरीको नतिजा निकालेको थियो । कोरोनाभाइरस महामारीले गर्दा गत चैतदेखि फुटबल खेल्न नपाएको नेपालले सात महिनापछि मैत्रीपूर्ण खेल खेलेको हो ।
बंगलादेशमा भएको मैत्रीपूर्ण खेलमार्फत ६ युवा खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्ने अवसर पाए । पहिलो खेलमा डिफेण्डर विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले डेब्यु गरे भने दोस्रो खेलमा छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्दम्बेले डेब्यु गरे ।
बंगलादेश जानुअघि प्रशिक्षणका क्रममा ७ खेलाडीलाई कोरोना संक्रमण भएपछि यस पटक राष्ट्रिय टिममा ८ नयाँ खेलाडीले अवसर पाएका थिए । पहिलो पटक टिममा स्थान बनाएकामध्ये गोलकिपर दीप कार्की र डिफेण्डर दिलेन लोक्तानले भने मैदान प्रवेश गर्ने अवसर पाएनन् ।
टोलीलाई ललितपुरको सातदोबाटोस्थित एन्फा होस्टेलमा राखिने छ । विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले यसै महिना भित्र घरेलु मैदानमा अर्को मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ ।