काठमाण्डौ – किर्गीस्तानमा जारी नाडेज्डा कप फुटबलको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसंग पराजित भएको छ । आज भएको समूहचरणको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको हो ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा अर्को गोल खाएको थियो । ३४ औं मिनेटमा उज्वेकिस्तानले अग्रता बनाएको थियो । ५१ औं मिनेटमा अर्को गोल गर्दै उसले सहज जित हात पारेको हो ।
फिफा वरियतामा ४४ औ स्थानमा रहेको उज्वेकिस्तानबिरुद्ध १ सय १ औं स्थानमा रहेको नेपालले निक्कै प्रतिस्पर्धात्मक खेल खेलेको थियो । तर नेपालले गोल गर्नका लागि पाएको अवसरको भने सदुपयोग गर्न सकेन् । नेपालले समूहचरणको अन्तिम खेलमा भोलि ताजकिस्तानको सामना गर्नेछ । ताजाकिस्तान १ सय २९ औं स्थानमा रहेको छ ।