काठमाडौं – पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानसँग ६ विकेटको हार व्यहारेको छ । नेपाललाई हराएसँगै आयोजक ओमानले ट्वान्टी–२० क्रिकेट सिरिजको उपाधि जितेको हो ।
लिग चरणको अन्तिम खेलमा आज नेपाललाई ६ विकेटले पराजित गर्दै ओमानले उपाधि घरमै राख्यो । नेपालको सुरुवात निकै खराब रह्यो । टिमको स्कोर मात्र दुई रन हुँदा ओपनर निशान पाण्डे आउट भए ।
दोस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले २४ रनको साझेदारी गरे । पारस व्यक्तिगत ५ रनमा आउट भए । त्यसपछि लगातार विकेट गुमाएको नेपाल मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो ।
नेपालका लागि आरिफले २० र दीपेन्द्र सिंह ऐरीले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । घातक बलिङ गरेका आमिर कलिमले ४ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । जवाफमा मैदान उत्रिएको ओमानले ११.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
ओमानले ४ खेलमा सतप्रतिशत नतिजा निकाल्यो । आयरल्याण्ड ६ अंकमा दोस्रो र नेपाल ४ अंकमा तेस्रो स्थानमा रहे । हङकङ्ले खाता नै खोल्न सकेन भने नेदरल्यण्डस् २ अंकमा चौंथो स्थानमा रह्यो । सुरुवाती २ खेलमा जित निकालेको नेपाल पछिल्ला दुई खेलमा भने पराजित हुन पुग्यो ।
यसअघि टस जितेर पहिला ओमानले बलिङ रोजेपछि व्याटिङ गरेको नेपाल ११ औं ओभरमा मात्र ६४ रनमा अलआउट भएको थियो । अमिर कलिमले ५ र बिलाल खानले २ विकेट लिए ।
यसैबीच, नेपालका करण केसी सिरिजको सबैभन्दा बढी विकेट लिने खेलाडि बनेका छन् । आज २ विकेट लिएका उनी ओमान सिरिजमा ११ विकेट लिदै सवैभन्दा बढी विकेट लिने खेलाडि बनेका हुन् । आयरल्याण्डविरुद्ध १ तथा नेदरल्याण्ड्स र हङकङविरुद्ध उनले समान ४ विकेट लिएका थिए ।