काठमाडौं – सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल जिम्बावेसँग पराजित भएको छ । शुक्रबार भएको सिरिज अन्तर्गत पहिलो खेलमा टेष्ट मान्यता प्राप्त टोली जिम्बावेसँग ५ विकेटले पराजित भएको हो ।
सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १ सय ३३ रनको लक्ष्य सिंगापुरले ५ विकेट गुमाएर ११ बल अगावै भेट्टायो ।
सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएपनि मध्यक्रमका दुई ब्याट्सम्यानले जिम्बावेको जितको यात्रा तय गरे । ६४ रनमा ५ विकेट गुमाएको जिम्बावेका लागि मध्यक्रमका ब्याट्सम्यानले जिम्मेवार भएर ईनिङ्स सम्हालेका थिए ।
टस जितेर ब्याटिङ रोजेको नेपालले सुरुवाती प्रर्दशन राम्रो गर्न सकेन । उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले केहि आक्रामक शट खेलेपछि नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको सामान्य योगफल तयार पारेको थियो ।
सिनियर टोलीबाट डेब्यू गरेका इशान पान्डेले कप्तान पारस खड्कासँगै ओपनिङ गरेका थिए । उनले ८ बलमा एक चौकासहित ४ रनमात्र बनाउन सके । आरिफ शेख पनि ८ रनमै आउट भए । कप्तान पारस पनि १८ रनको स्कोरमा आउट भए । उनले २२ बल खेलेर ३ चौका प्रहार गरे ।
कुशल मल्लले ६ बलमा २ रनमात्र जोड्न सके । दीपेन्द्र र सन्दीप जोराले ३४ रनको साझेदारी गरे । दीपेन्द्र पनि व्यक्तिगत ४० रन बनाए । नेपालको तर्फबाट सर्वाधिक रन बनाएका दीपेन्द्रले ३३ बलमा ५ चौका प्रहार गरे । विनोद भण्डारी र सोमपाल कामीले ३७ रनको अविजित साझेदारी गरे ।
१४ बल खेलेका सोमपालले अविजित २५ रन बनाउने क्रममा ३ छक्का प्रहार गरे । विनोद १२ बलमा १ चौकासहित ११ रनमा अविजित रहे । बलिङमा जिम्बावेका सीन विलियम्सले २ विकेट लिए । विलिङटन मासाकाद्जा, तेन्दाइ चतारा, मादजिभा र रायन बर्लले १र१ विकेट बाँडे ।