काठमाडौं – सरकारले नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ ।
नयाँ दरबन्दी कायम भएसँगै प्रहरी अधिकारीहरूलाई बढुवाको बाटो खुलेको छ । दरबन्दी थप भएसँगै प्रहरी प्रधान कार्यालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ । एआइजी प्रतिस्पर्धामा डीआइजीहरू विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धीरजप्रताप सिंह, उत्तम सुवेदी लगायत छन् ।
यस्तै, पाँच डीआइजी मध्ये एक जनाको साइबर ब्युरोमा दरबन्दी कायम गरिएको छ । बाँकी चार जना डीआइजी प्रहरी प्रधान कार्यालयमा रहने छन् । अब राजधानीको सुरक्षामा ‘संघीय राजधानी प्रहरी’ गठन हुन्छ । पहिले राजधानी बागमती प्रदेश मातहत थियो । अब राजधानीका तीन जिल्ला संघीय राजधानी प्रहरी मातहत रहने छन् ।
संघीय राजधानी प्रहरी गठन हुने भएपछि हाल महानगरको अवधारणामा रहेको मेट्रो प्रहरी हट्नेछ । मेट्रोमा हाल प्रहरी नायब महानिरीक्षक (डीआइजी) को दरबन्दी छ । संघीय राजधानी प्रहरी अन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर रहने छन् । ती कार्यालय महानगरीय प्रहरी परिसरको रूपमा थिए । अब जिल्ला प्रहरी कार्यालय वा अन्य कुनै नाममा रहने छन् ।
गृह मन्त्रालयले पाँच डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिंदै स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पठाएको थियो । तर, सरकारले एआईजीको दरबन्दी समेत थप गरेर स्वीकृत गरेको हो ।
प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन् । यसअघि प्रशासनमा २६ जना डीआईजी रहेकामा ठाकुरप्रसाद ज्ञवाली आईजीपी भएका बेला गृह मन्त्रालयले १४ वटा दरबन्दी कटौती गरेको थियो ।