काठमाडौं – भुटानमा सुरु साफ अण्डर १५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ । तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले फराकिलो हार ब्यहोरेको हो ।
भुटानको थिम्पुमा बुधबार सुरु भएको प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसँग ४–१ गोल अन्तरले पराजित भएको हो । भुटानको चाम्लिङथाङ रंगशालामा पहिलो हाफमा २–० ले अघि बढेको भारतले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।
भारतका लागि लिन्डा कोम सेड्रोले दुई तथा सुमती कुमारी र प्रियंकाले एक एक गोल गरे । सातौं मिनेटमा सुमतीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् ।
३८ औं मिनेटमा लिन्डाले भारतको अग्रता दोब्बर पारिन् । ५६ औं मिनेटमा लिन्डाले नै व्यक्तिगतल दोस्रो गोल गर्दै भारतलाई ३–० ले अघि बढाईन् । नेपालका लागि मनमाया दमाईले ६२ औं मिनेटमा एक गोल फर्काईन् । तर, ६६ औं मिनेटमा प्रियंकाले गोल गर्दै भारतलाई ४–१ को फराकिलो जित दिलाइन् ।
नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको अन्तिम खेलमा नेपालले आगामी आईतबार भुटानसँग खेल्नेछ । राउण्ड रोबिन लिगका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो । फाइनलमा स्थान बनाउन नेपाललाई पर्सिको बंगलादेशसँको खेल जित्नैपर्ने दबाब छ ।