काठमाडौं – साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । आइतबार भएको खेलमा साविक विजेता नेपाल भुटानसँग ३ – ० गोल अन्तरले पराजित भएको हो ।
हल्चोकस्थित एपीएफ मैदानमा पहिलो हाफमा १ – ० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।
बल पोजिसनमा पकड जमाएपनि नेपालले खेलको ३७ औं मिनेटमा गोल खाएको थियो । नेपाली डिफेन्डरले बल क्लियर गर्न नसक्दा भुटानका यशी दोर्जीले गोल गरेका थिए ।
दोस्रो हाफको ८६ औं मिनेटमा भुटानले अग्रता दोब्बर बनायो । नेपालका विशाल बस्नेतले डिबक्स भित्र भुटानका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा भुटानका केल्जाङ जिग्मीले गोल गरे । त्यसपछि खेलको ९० औं मिनेटमा कर्मा सोनामको बक्स बाहिरबाट गोल गर्दै भुटानलाई ३ – ० को जित दिलाए ।
योसँगै नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ। भुटान भने सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १-१ को बराबरी गरेको थियो । समूह चरण ’ए’ मा नेपालसहित भुटान र माल्दिभ्स छन् ।
नेपालले २ खेलमा १ अंक जोडेको छ । भुटान भने सेमिफाइनलमा पुगेको छ । भुटानले १ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्सको पनि १ अंक रहेको छ । अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्सबीचको खेलले तय गर्नेछ ।