(काठमाडौं) – नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका छन् । नेपाल र अष्ट्रियाबीच बनेको ऊर्जा संयन्त्रको पहिलो सचिवस्तरिय बैठकमा दुवै देश ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका हुन् ।
काठमाडौंमा सोमबार बसेको संयन्त्रको पहिलो वैठकमा नेपालको तर्फबाट ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे र अष्ट्रियाको तर्फबाट त्यहांको यातायात तथा प्रविधि उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर सहभागी थिए ।
सम्झौता पत्रमा नेपालको तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव प्रविणराज अर्याल र अष्ट्रियाबाट सल्लाहकार सोन्जा स्टीलरले गरेकी थिईन् । संयन्त्रको पहिलो बैठकमा ६ सय ३५ मेगावटको दूधकोशी र १ सय मेगावाटको तामाकोशी–५ जलविद्युत आयोजनामा आवश्यक लगानी सहयोग गर्ने र अन्य जलविद्युत आयोजनाहरुको हकमा समेत भविष्यमा सहकार्य गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले बताए ।
त्यसैगरी नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको क्षमता अभिवृद्धिको लागि समेत प्राविधिक सहयोग गर्ने समझदारी बनेको छ । नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्य सम्बन्धी समझदारी पत्रमा गत जेठ ८ गते हस्ताक्षर भएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले अष्ट्रियाको राजधानी भियनामा त्यहांका समकक्षी एन्द्रेईस रेईकार्डसँग सो सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । दुई देशबीच ऊर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवहरुलाई आदानप्रदान गर्ने उक्त सहमतिमा उल्लेख थियो । त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्तकार्य समूह बनाएर काम गर्ने समझदारी समेत त्यति बेला भएको थियो ।
ऊर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने समझदारीअनुसार सोमबार दुवै पक्षबी चउक्त सहमति भएको हो ।
मन्त्री पुनले ऊर्जा मन्त्रालयको कार्यभार सम्हालेसँगै चीन, बङगलादेश र अष्ट्रियासँग ऊर्जा समझदारी माहस्ताक्षर भएको छ । त्यसका साथै भारतसँग इनर्जी वैङकिङ, अन्र्तदेशिय प्रशारण लाईन, पिटिएको गाइड लाइन समेत संशोधन भएको छ ।