काठमाडौं -चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच २० वटा सहमति तथा सम्झौता भएको छ । दुई देशको औपचारिक वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौता भएको हो ।
नेपाल र चीनबीच बहुचर्चित काठमाण्डौ–केरूङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ यातायात मन्त्रालयबीच सीमा पार रेलमार्ग सम्भाव्यता अध्ययनको सम्झौता भएको हो ।
यस्तै सुरुङ मार्ग निर्माणका सन्दर्भमा पनि सम्झौता भएको छ । नेपालको अर्थ मन्त्रालय र चिनियाँ अन्तर्रा्ष्ट्रिय सहयोग नियोगका बीच सुरुङ मार्ग बनाउने सम्झौता भएको हो ।
चीनको केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भने यसअघि नै भइसकेको छ । पूर्वसम्भाव्यता अध्ययन टोलीले भौगोलिक कठिनाइ र खर्चिलो हुने भए पनि रेलमार्ग बनाउन असम्भव भने नभएको निष्कर्ष निकालेको बताइएको छ ।
नेपाल र चीनबीच भएका सहमति तथा सम्झौताको सूची :
१. नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणाली सम्झौता
२. नेपाल र जनवादी गणतन्त्र चीनबीच शासकीय क्षमता अभिवृद्धि तथा आदानप्रदानका लागि सम्बन्धी समझदारीपत्र
३. नेपाल र जनवादी गणतन्त्र चीनबीच आपराधिक गतिविधि नियन्त्रण सम्बन्धी कानुनी सहायता सन्धि
४. नेपाल र जनवादी गणतन्त्र चीनबीच सगरमाथा क्षेत्रको पर्यावरणीय संरक्षण सम्बन्धी समझदारीपत्र
५. नेपाल र जनवादी गणतन्त्र चीनबीच राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानी तथा सहयोग अभिवृद्धि सम्बन्धी समझदारीपत्र
६. नेपाल र जनवादी गणतन्त्र चीनबीच सिचुआन प्रान्तको राजधानी छन्दुमा नेपालको महावाणिज्यदूतावास स्थापना गर्नेसम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)
७. नेपालको भौतिक तथा यातायात मन्त्रालय तथा जनवादी गणतन्त्र चीनको यातायात मन्त्रालयबीच चीन नेपाल सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययन सम्बन्धी समझदारीपत्र
८. नेपालको काठमाडौँ महानगरपालिका र जनवादी गणतन्त्र चीनको नान्जिङ शहरबीच भगिनी सम्बन्ध स्थापनाको सम्झौता
९. नेपालको बुटवल उपमहानगरपालिका र जनवादी गणतन्त्र चीनको सियान नगरबीच भगिनीसम्बन्ध स्थापनाको सम्झौता
१०. नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जनवादी गणतन्त्र चीनको परम्परागत औषधि व्यवस्थापन राष्ट्रिय प्रशासनबीच परम्परागत उपचार पद्धतिमा सहयोग सम्बन्धी समझदारीपत्र
११. नेपालको गृह मन्त्रालय र जनवादी गणतन्त्र चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालय मन्त्रालयबीच दैवी विपत्ति न्यूनीकरण तथा आपत्कालीन द्रुत उद्धारका लागि सहयोग सम्बन्धी समझदारीपत्र
१२. नेपालको महान्यायाधिवक्ताको कार्यालय र जनवादी गणतन्त्र चीनको सर्वोच्च महान्यायाधिवक्ताको कार्यालयबीच सहयोग सम्बन्धी समझदारीपत्र
१३. नेपालको त्रिभुवन विश्वविद्यालय र कन्फ्युसियस अध्ययन संस्थानको मुख्यालयबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस अध्ययन संस्थान स्थापन गर्ने सम्बन्धी सम्झौता
१४. नेपालको कृषि विभाग र जनवादी गणतन्त्र चीनको सामान्य भन्सार प्रशासनबीच अमिला वर्गका फलफूल चीन निर्यात गर्ने सम्बन्धी फाइटोस्यानेटरी आवश्यकता सम्बन्धी प्रोटोकल
१५. नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच व्यापार सम्बन्धी संयुक्त कार्यदल गठनको समझदारीपत्र
१६. चिनियाँ सहयोगमा नेपालमा भूकम्प अनुगमन सञ्जाल परियोजना आपूर्ति तथा स्वीकार प्रमाणपत्र
१७. नेपालको अर्थ मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल गठन सम्बन्धी समझदारीपत्र
१८. नेपालको अर्थमन्त्रालय र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग नियोगबीच सुरुङ निर्माण सहयोग सम्बन्धी समझदारीपत्र
१९. सीमा सुरक्षा तथा कार्यालय उपकरणका लागि ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)
२०. चीनको सहयोगमा काठमाडौँ उपत्यकाका नगर क्षेत्रमा खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययन सम्बन्धी बैठकका निर्णय