काठमाडौं – नेपाल र चीनबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।
शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वका टोलीबीच भएको द्वीपक्षीय औपचारिक वार्तापछि विभिन्न समझदारी पत्रहरूमा हस्ताक्षर भएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार अन्तरदेशीय रेलमार्ग (केरूङ-काठमाडौं) को सम्भाव्यता अध्ययन गर्न चीनले प्राविधिक सहायता गर्ने समझदारीमा हस्ताक्षर भएको छ।
त्यस्तै, नेपाल-चीन प्रसारण लाइनको सम्भाव्यता अध्ययनमा सहकार्य गर्ने, नेपालबाट चीन निर्यात हुने घाँसको स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी प्रोटोकल, अरनिको राजमार्गको मर्मत सम्भारपछि हस्तान्तरण, चिनियाँ मेडिकल टिमलाई नेपालमा काम गर्न पठाउनेलगायत विषयमा समझदारीमा हस्ताक्षर भएको हो।
सिंहदरबारको वार्तापछि चिनियाँ विदेश मन्त्री यी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्।