नेपाल र भारतका प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको  उद्घाटन

15

काठमाडौँ – नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको मंगलबार  उद्घाटन गरेका छन् । दक्षिण एसियाकै पहिलो क्रस बोर्डरका रुपमा रहेको पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा स्विच थिचेर उद्घाटन गरेका हुन्।

भिडियो कन्फरेन्सिङमार्फत दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा परियोजनाको उद्घाटन गरिएको हो । इलेक्ट्रिक स्विच थिचेर उद्घाटन गरेसँगै पाइपमार्फत डिजेल आउन सुरु भएको छ ।२०७२ सालमा भएको सम्झौताअनुसार भारतले ७० किलोमिटर लामो पाइपलाइन बिच्छाइदिएको हो ।

७० किलोमिटर लामो पाइपलाइनमध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको छ । सुरुमा भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सम्झौता भए पनि अहिलेसम्म भारतले मात्रै खर्च गरेको छ । अहिलेसम्म भारतले २ अर्ब २५ करोड भारु खर्च गरेको छ ।

नेपालमा डिजलको माग धेरै भएकोले पाइपलाइनबाट सुरुमा डिजल मात्रै आउनेछ । पाइपलाइनबाट प्रतिघन्टा २ सय किलोलिटर अर्थात २ लाख लिटर र २४ घन्टामा ४८ लाख लिटल डिजल आउनेछ  । अहिले अमलेखगञ्जबाट दैनिक २० लाख लिटर मात्रै डिजलको माग भएकाले अन्य नाकाबाट तेल लिन भारत जाने ट्यांकरले पनि अमलेखगञ्जबाटै डिजल लैजान सक्ने छ।

पाइपमार्फत आएको तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ वटा ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर अट्ने ट्यांकी निर्माण भैसकेका छन् ।
यस्तै सुरक्षाका सबै उपकरण पनि जडान भैसकेका छन् ।

समाचार वर्गहरू