नेपाल र यूएई संयुक्त कार्य समूहको बैठक काठमाडौंमा

24

(काठमाडौं) – नेपाल र संयुक्त अरब इमिरेट्स यूएई संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक यही कात्तिक १७ र १८ गते काठमाण्डौमा बस्ने भएको छ ।

दुई देश बीच भएको श्रम समझदारी (एमओयु) को कार्यान्वयनमा मार्गप्रशस्त गर्न जेडब्लुसीको बैठक बस्न लागेको हो । बैठकमा दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी लगायतका प्राविधिक विषयलाई बैठकले टुङ्ग्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

संयुक्त कार्य समूहको बैठकले श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रुप दिने मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए । बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव डा घिमिरेले र युएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गर्नेछन् ।

बैठकमा सहभागी हुन युएईको प्रतिनिधिमण्डल काठमाडौं आइसकेका छन् । बैठकले प्राविधिक विषय टुंगो लगाएपछि नयाँ श्रम समझदारीका प्रावधान अनुसार नेपाली श्रमिकले सेवा सुविधा प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।

दुई साता अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट अबुधावी डायलगमा सहभागी हुन यूएई पुगेका थिए । सोही क्रममा त्यहाँका मानप संशाधन मन्त्री नासेर थानी अल हम्ली र मन्त्री विष्ट बीच भएको बैठकमा नोभेम्भर पहिलो साता जेडब्लुसीको बैठक काठमाडौंमा बस्ने निर्णय भएको थियो ।

समाचार वर्गहरू