नेपाल संवत् ११४० सुरु, विविध कार्यक्रम गरी मनाईंदै

14

(काठमाडौँ) – नेपाल संवत् ११४० मुलुभर विविध कार्यक्रम गरी मनाईंदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए ।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकाल सम्म राष्ट्रिय संवतको मान्यता पाएका थिए । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत भएको जानकारहरु बताउँछन् ।

विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौंमा छ । नेपाल संवतको अवसरमा नेपाल भाषा मंका खलले आज मोटरसाइकल र्‍याली निकाल्दै छ ।

समाचार वर्गहरू