(काठमाडौं) – एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपाल ७ विकेटले पराजित भएको छ । बंगलादेशको ढाकास्थित कृरा शिक्खा मैदानमा बिहीबार भारतले नेपाल ७ विकेटले हराएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल इमर्जिङ टिमले ४४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १ सय ९३ रनमा बनाएको थियो । सामान्य लक्ष्य लिएर जवाफी व्याटिङमा आएको भारत इमर्जिङ टिमले ४१ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै १ सय ९४ रन बनायो ।
भारतका लागि शनविर सिंहले ५६, अरमान जफिरले नटआउट ५१ रन बनाए । नेपालका लागि करण केसी, ललितनारायण राजवंशी र सुशन भारीले १/१ विकेट लिए । पवन सर्राफले सर्वाधिक ५६ रनको योगदान गरे । ४९ बल खेलेका उनले दुई छक्का र सात चौका प्रहार गरे ।
नेपालले पहिलो ओभरको दोस्रो बलमै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको थियो । नेपालका लागि शरद भेषावाकर र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे । शरदले व्यक्तिगत ४४ रन जोड्दा कुशल २८ रनमा आउट भए ।
भारतका सौरभ दुबे एक्लैले चार विकेट लिए भने एस राठोडले तीन तथा पर्थ रेखाडेले दुई विकेट झारे । प्रतियोगितामा नेपाल समूह बी मा परेको छ । नेपालको समूहमा बङ्गलादेश, भारत र हङकङ छन् । त्यस्तै समूह ‘ए’मा श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान र ओमान छन् ।