काठमाडौं – साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो ।
बिहीबार नेप्से सूचक १०.८२ अंकले बढेर १७१८.४९ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि झण्डै पाँच अर्ब रुपैयाँ पुगेको छ । यस दिन १९८ वटा कम्पनीको १ करोड ३८ लाख ८९ हजार १९८ कित्ता शेयर ४ अर्ब ८२ करोड ६२ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।
नेप्से उकालो लागेर कारोबार रकमसमेत वृद्धि हुँदा त्यसले लगानीकर्तालाई समेत उत्साहित बनाएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ ।
बैंकिङ १०.२१, व्यापार १६४.७१, निर्जीवन बीमा ३९.१६, अन्य २८.३९ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै, होटल १८.४१, विकास बैंक ४.४७, वित्त ३.६५, उत्पादन ३०.८६, लघुवित्त १.७१ र जीवन बीमा २८.९२ विन्दुले ओरालो लागेको छ ।
बिहीबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ३२ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको ३० करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, प्रभु बैंकको २२ करोड ३८ लाख, हिमालयन डिस्टिलरीको २१ करोड ४९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ७९ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको १६ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।