काठमाडौं – दशैं नजिकिएसँगै धितोपत्र बजारमा गिरावत आएको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि उल्लेख्य रुपमा गिरावट आएको छ । शेयर बजारमा सूचीकृत अधिकांश कम्पनीको शेयर मूल्य घटेर तल्लो बिन्दुमा झर्दा लगानीकर्तामा चरम निराशा देखा परेको छ । हरेक दिन कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य घटेर नेप्से सूचक तल्लो बिन्दुमा झर्दा दैनिक कारोबार रकम घट्ना थालेको हो ।
हाल कुल ५० वटा ब्रोकरहरुबाट नेप्सेमा शेयर कारोबार हुँदै आइरहेको छ । दैनिक १७ करोडभन्दा कम शेयर कारोबार हुँदा प्रति ब्रोकर औसतमा ३४ लाख रुपैयाँभन्दा कमको कारोबार भएको स्पष्ट देखिन्छ । नेप्से घटेको घटै गर्दा शेयर ब्रोकर कार्यालयहरुमा लगानीकर्ताको उपस्थिति ज्यादै न्यून देखिन थालेको छ । यसले पनि शेयर बजारप्रति लगानीकर्ता कति निराश छन् भन्ने संकेत गर्दछ ।
असोज १ गते बुधबार ४७ करोड बढीको शेयर कारोबार भएको शेयर बजारमा त्यसपछिका कारोबार दिनहरुमा कारोबार क्रमश सुस्त बन्दा एक सातामा कारोबार रकम १७ करोभन्दा तल झरेको हो । यसबीचमा शेयर बजार मापक सूचक नेप्से पनि ४२ अंकले तल झरेको छ ।
दशैं नजिकिँदै गर्दा पनि लगानीकर्ताले शेयरमा लगानी बढाउनुको साटो खर्चको जोहो गर्न शेयर बिक्री गर्नेतर्फ लागेको देखिन्छ । बुधबार अधिकांश कम्पनीहरुको शेयरमूल्य घट्दा नेप्से सूचक ३ दशमलव ३ अंकले घटेर १ हजार १ सय ३१ दशमलव ५३ बिन्दुमा झरेको छ ।
कारोबारमा आएका ८६ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४६ वटा कम्पनीको शेयरमूल्य सामान्य बढेको छ । लगानीकर्ता शेयर बजारप्रति आकर्षित हुन नसक्दा कारोबार रकम अघिल्लो दिनको तुलनामा अझै घटेको छ । यस दिन १ सय ६६ वटा कम्पनीको ७ लाख ७७ हजार कित्ता शेयर १६ करोड ६९ लाख रुपैयाँमा खरीद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।