काठमाडौं – कारोबारको दोस्रो दिन सोमबार धितोपत्र बजार ३७ अंकले उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ७ अंकले उकालो लागेर २ हजार ४ सय ८ दशमलव २४ बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९५ अंकले वृद्धि भएको छ । नेप्से उकालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा २ अर्ब रुपैयाँ भन्दा बढीले गिरावट आएको छ ।
कारोबारको पहिलो दिन आइतबार ५४ दशमलव ७५ अंकले ओरालो लागेको नेप्सेमा ८ अर्ब ९७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा आज कारोबारमा आएका लघुवित्त र म्यूचल फण्ड बाहेक बाँकी सबै उपसमूहको सूचक उकालो लागेको छ । यस दिन लगानीकताहरुको आकर्षण होटल उपसमूहमा देखिएको छ ।
होटल उपसमूहको सूचक सबैभन्दा बढी ८ दशमलव ७६ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक, उत्पादन तथा प्रशोधन, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्सेमा आज कुल २ सय ३ कम्पनीका ६५ हजार ७ सय ७८ कारोबारबाट एक करोड ३३ लाख ११ हजार ९ सय ४२ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस दिन कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सको २९ करोड ९९ लाख, र नेपाल लाइफको २७ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर शेयर खरिदबिक्री भएको छ ।