नेविसंघको तदर्थ समितिमा २ उपसभापति र ५ महामन्त्री थप

54

(काठमाडौं) – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा दुई उपसभापति र ५ जना महामन्त्री गरी थप ७ जना मनोनित भएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्था नेवि संघमा दुई जना उपसभापति मनोनित गरेका हुन् ।

गत बिहीबार राजीव ढुंगानाको अध्यक्षतामा बनाएको तदर्थ समितिमा देउवाले आइतबार २ उपसभापति र ५ महामन्त्री थपेका हुन् । योसंगै तदर्थ समिति १० सदस्यीय भएको छ ।

केन्द्रीय कार्यसमितिका अनुसार सभापति देउवाले आइतबार झापाकी तुलसा पन्त र रूपन्देहीका मुक्तिराज पौडेललाई उपसभापति मनोनित गरेका हुन् ।

यस्तै, नेविसंघमा पाँच जना महामन्त्री थपिएको छ । तनहुँका दिपक भट्टराई, धादिङकी उर्मिला थपलिया, मकवानपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बलदेव तिमिल्सीना र स्याङ्जाका युवराज पाण्डे महामन्त्री मनोनित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेताहरूबीच नेविसंघमा नौ जना महामन्त्री राख्ने सहमति छ । नेता कृष्णप्रसाद सिटौला समूहको सिफारिसमा उपसभापतिमा पन्त र पौडेल तथा महामन्त्रीमा तिमल्सीना र पाण्डेलाई देउवाले मनोनित गरेका हुन् ।

यसअघि कांग्रेस सभापति देउवाले माघ १६ गते नेविसंघ सभापतिमा राजीव ढुंगाना र महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई चयन गरेका थिए । दुवै महामन्त्रीलाई देउवाले आफ्‍नो कोटाबाट मनोनित गरेका हुन् । १० माघमा कांग्रेस शीर्ष नेताहरुबीच नेविसंघको तदर्थ समिति पदाधिकारी सहित १२७ सदस्यीय बनाउने सहमति बनेको थियो ।

समितिमा ९ महामन्त्री, ६/६ सह-महामन्त्री बनाउने सहमति गर्दै नेताहरुले भागबण्डा गरेका थिए । सभापति देउवा समूहले अध्यक्ष सहित ३ महामन्त्री तथा २/२ उपसभापति र सहमहामन्त्री लिने, पौडेल समूहले ३ महामन्त्री र २/२ सह-महामन्त्री लिने, सिटौला समूहले महामन्त्री, उपसभापति र सह-महामन्त्री २/२ जना लिने सहमति भएको थियो । उपसभापति विजयकुमार गच्छदारलाई १ महामन्त्री दिने सहमति नेताहरुले गरेका थिए ।

समाचार वर्गहरू