(पर्सा) – यसअघि पनि पटक-पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । उक्त मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७० वर्षीय एक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि अर्को विवाद सुरु भएको हो ।
बारा जिल्लाको करैयामाई गाउँपालिका ७ उमजन घर भएका चौधरी थरका ती वृद्धलाई दम र निमोनियाको समस्या देखिएपछि जेठ २ गते मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो । भेन्टीलेटरमा राख्नुअघि कोरोनाको आशंकामा ती वृद्धको स्वाब मेडिकल कलेजले पीसीआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।
तर स्वाबको रिपोर्ट आउनुअघि नै जेठ ४ गते उपचारका क्रममा उनको मृत्यु भयो । मेडिकल कलेजले पनि पीसीआर रिपोर्ट नआउँदै जेठ ४ गते नै शव परिवारजनको जिम्मा लगाएर पठाएपछि आफन्तले गाउँ लगेर त्यही दिन अन्तिम दाहसंस्कार गरेका थिए ।
रिकन्फर्मेसनका लागि गत ७ गते काठमाडौं पठाइएको मृतकको स्वाबको रिपोर्ट सोमबार बिहान पोजेटिभ आएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताए । ‘मेडिकल कलेजबाट जेठ २ प्राप्त स्वाबको नारायणीमा २ पटकसम्म परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएपछि रिर्पोट डिस्पोज गरेनौं, रिकन्फर्मेसनका लागि जेठ ७ मा काठमाडौंमा पठायौं’, उनले भने, ‘काठमाडौंको ल्याबमा पनि लगातार २ पटकसम्म पोजेटिभ आएपछि मात्रै सोमबार बिहान रिपोर्ट सार्वजनिक गरेका हौं ।’
नेशनल मेडिकल कलेजका सञ्चालक एवं प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले मृतकको रिपोर्ट आउन ढिलाइ भएपछि शवलाई आफन्तको जिम्मा लगाएर पठाएको बताए । उनले भने, ‘मृतकको शव अस्पतालमा धेरै दिन राख्दा समस्या आउन सक्थ्यो त्यसैले रिपोर्ट कुर्दा नआएपछि शव पठाएका थियौं ।’
नारायणी अस्पतालका मेसु उपाध्यायले मेडिकल कलेजले बिरामीको मृत्यु र शव परिवारको जिम्मा लगाउँदा अस्पताललाई कुनै जानकारी नदिएको बताए । ‘शंकास्पद देखिएपछि स्वाब लिइएको बिरामीको मृत्यु भएको जानकारी हामीलाई गराइएन, शव पठाउँदा पनि खबर गरिएन’, उनले भने, ‘स्वाबको रिपोर्ट नेगेटिभ नआउन्जेल प्रत्येक शंकास्पद व्यक्तिलाई हामीले पोजिटिभ नै मानेर व्यवहार गर्नुपर्ने हुन्छ, स्वाबको रिपोर्ट नआउन्जेल शव परिवारलाई दिनु हुँदैनथ्यो ।’ यसमा सम्बन्धित कलेजको त्रुटि भएको उनको भनाइ छ।
मृतक वृद्धको उपचार गरिएको मेडिकल कलेजको आईसीयू कक्षलाई स्थानीय प्रशासनले सोमबार अपरान्ह ३ बजदेखि सिल गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार दिउँसो बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले आईसीयू कक्ष सिल गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले मृतकको उपचार गरिएको कक्ष मात्रै सिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।
यसैगरी मृतक वृद्धको घर भएको बाराको करैयामाई गाउँपालिका ७ उमजन गाउँलाई पनि प्रहरीले सोमबार अपरान्हदेखि सिल गरेको छ । गाउँ वरिपरि तारबार गरिएको बाराका प्रहरी उपरीक्षक गौतम मि श्रले बताए । उनका अनुसार, मृतकको गाउँ नजिकैको खोलामा गरिएको दाहसंस्कारमा परिवारका सदस्य, आफन्त र छरछिमेकका गरी ७० भन्दा बढी मलामी गएका थिए । ती सबैलाई तत्कालका लागि आआफ्नो घरमै बस्न निर्देशन दिइएको र मृतकको सम्पर्कमा रहेका सबै जनाको कन्ट्रयाक्ट ट्रेसिङ पनि थालिएको उनले बताए ।