काठमाडौं — संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौँको दरबारर्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थल पुगेका थिए । हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजमा देखिएका प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना दिए ।
‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौँ । अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ । दिवसलाई भव्य ढङ्गले मनाउन आग्रह गर्छु । तपाईहरू इन्जोय गर्नुस् । धेरै धेरै धन्यवाद,’ ओलीले भनेका थिए ।’
पत्नी राधिका शाक्य र उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायतसँगै कन्सर्टमा पुगेका उनले त्यहाँ छोटो मन्तव्य राखेका थिए । स्टेजमा गएर राष्ट्रिय झण्डा फहराएपछि उनी फर्किएका थिए । गृहमन्त्री रमेश लेखक पनि कार्यक्रममा सहभागी भएका थिए ।उनीहरु करिब ५–१० मिनेट मात्र कन्सर्टमा सहभागी भए ।
कार्यक्रममा देविका बन्दना, आनन्द कार्की, कुन्ती मोक्तान, सुगम पोखरेल, शिवानी मोक्तान, दीपक लिम्बु, स्वप्न सुमनले सांगीतिक प्रस्तुती दिएका थिए भने कुटुम्ब ब्यान्डले आफ्नो धुनमार्फत सहभागी दर्शकलाई मनोरञ्जन दिएका थिए ।