गलकोट – बागलुङ जिल्लाको धार्मिक पर्यटकीयस्थल पञ्चकोट घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ । निर्माणाधीन अवस्थामै रहेको पञ्चकोट पछिल्लो समय बागलुङको प्रमुख पर्यटकीय आर्कषणको रुपमा लिन थालिको छ । पञ्चकोटको सुन्दर दृश्य र प्रचारप्रसारका कारण सबैको मानसपटलमा पञ्चकोट नै रहेको हुन्छ । पछिल्लो समय मुस्ताङ जाने पर्यटकको रोजाइमा पञ्चकोट पर्दै आएको छ ।
पञ्चकोटमा हरेक शनिबार एक हजाारदेखि दुई हजार आन्तरिक पर्यटक आउने गरेका छन् । अन्य दिन तीन सयदेखि पाँच सयसम्म पर्यटक आउन थालेको विश्व शान्ति संवृद्धिधाम पञ्चकोटले जनाएको छ । पञ्चकोटका धार्मिक कलाकृति संरचना हेर्न जिल्ला तथा जिल्लाबाहिरका पर्यटक पुग्न थालेका हुन् ।
जिल्ला सदरमुकामबाट अत्यन्तै नजिक तथा पक्की सडकका कारण आन्तरिक पर्यटकको रोजाइ पञ्चकोट पर्दै गएको वडाध्यक्ष तथा पञ्चकोटका उपाध्यक्ष खिमराज सापकोटाले बताए । जिल्ला सदरमुकामबाट ८ किलोमिटरमा रहेको यहाँ बागलुङ भित्रने अधिकांश पर्यटक जाने गरेको जिल्ला होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।
वार्षिक पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ पञ्चकोटको पूर्वाधार निर्माण भइरहेको छ । पञ्चकोटमा हालसम्म करिब रु ३० करोड खर्च भइसकेको छ । रु ६० करोडको लागतमा पञ्चकोटमा निर्माण हुन थालेको १०८ फिट अग्लो कलशको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ ।
स्वामी कमलनयन आचार्य (मुक्तिनाथ बाबा)को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि विसं २०७१ सालदेखि वर्षेनी महायज्ञ संचालन गरी आर्थिक संकलन गरिँदै आएको छ । अत्यन्तै आकर्षक शैलीमा निर्माण भएका मन्दिर र आवश्यक पूर्वाधार निर्माण भइरहेको अवस्थामा नै, पूजापाठ, अध्ययन तथा अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको हो ।
रासस