पठाओको लोगो अंकित ड्रेसमा रोक लगाउने निर्णय

37
फाइल फोटो

काठमाडौं – पठाओ नेपाल प्रालिले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि प्रयोग गर्दै आएको पठाओको लोगो अंकित ड्रेसमा रोक लगाउने निर्णय गरेको छ।

कोरोनाको समयमा पठाओले  राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै राइडरलाई राइडको समयमा अनिवार्य गराएको ‘प्रेटेक्टिभ गेयर’  (ज्याकेट र ट्राउजर सहितको कपडा) तत्कालका लागि बन्द  गर्ने निर्णय गरेको हो।

‘अफलाइन राइडको विकृतीलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकोले सम्पूर्ण राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नाअएसम्म प्रयोग नगर्न अनुरोध गरिएको छ’, पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले राइड सेवा भने निर्वाध चल्ने बताएका छन्। ट्याक्सी र पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसको व्यवस्थापन गर्ने तयारी गरेको छ। सोमबार मात्र राजधानीमा पठाओ राइडर र ट्याक्सी चालकबीच झगडा भएपछि प्रहरीले यसको व्यवस्थापनमा चासो दिएको हो।

मंगलबार महाशाखामा ट्याक्सी व्यवसायीसँग छलफल गर्दै ट्राफिक प्रहरीले यसको व्यवस्थापनको तयारी थालेको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

समाचार वर्गहरू