काठमाडौं – नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै शानदार दोस्रो जित निकालेको छ।
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनी(पीएनजी)ले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा विकेट गुमाउँदै भेटाएको हो।
मंगलबार भएको खेलमा नेपालका लागि आरिफ शेख नटआउट रहँदै ५९ रनको अर्धशतकीय पालि खेले। त्यस्तै रोहित पौडेल पनि नटआउट रहँदै ४४ रन जोडेका थिए।
नेपालले पहिलो विकेटकारुपमा ओपनर ब्याटसम्यान आशिफ शेखलाई १० रनमा गुमाएको थियो। त्यस्तै दोस्रो विकेटकारुपमा कुशल भुर्तेल र तेस्रो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरीलाई गुमाएको हो। भुर्तेल ६४ बल खेल्दै ५० रनमा आउट भएका हुन्। भने ऐरी शून्य रनमा नै आउट भएका हुन्।
पीएनजीका लागि आसड भलाले ९६ बलको सामना गर्दै ४५ रन जोडे। त्यस्तै लेगा सियकाले ३२ बल खेल्दै २० रन जोडेका थिए।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २/२ विकेट लिए। त्यस्तै करन केसी, आरीफ शेख, दिपेन्द्र सिंह ऐरी, पवन शराफले समान १/१ विकेट लिए।
नेपालसँग टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा १७३ रन जोडेको हो।