काठमाडौं – विदेश भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच सोमबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री देउवा र स्वीस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो।
भेटका अवसरमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो। भेटमा देउवाले नेपालले सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् सदस्य, सन् २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्य एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले यसमा सहयोगका लागि स्वीस् सरकारलाई पनि आग्रह गरिन्।
साथै उनले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य विषय बनाएर सगरमाथा संवाद कार्यक्रम आयोजना गरेकाले सहभागिताका लागि स्वीस् सरकारलाई पनि आमन्त्रण गरिन्।
भेटवार्तामा संयुक्त राष्ट्रसंघका लागि जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलगायत पनि उपस्थित थिए।