परीक्षणको अभावमा कोरोनाको महामारी तीब्र गतिमा फैलियो : प्रधानमन्त्री

38

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा परीक्षणको अभावमा कोरोना भाइरसको महामारी तीब्र गतिमा फैलिएको बताएका छन् । सोमबार कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा सम्बोधनको गर्दै प्रधानमन्त्री ओलीले परीक्षणको अभावका कारण महामारी तीब्र गतिमा फैलिएको बताएका हुन् ।

छिमेकी राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणबिना नै नेपाल भित्रिएका कारण कोरोनाको संक्रमण फैलिएको देखिएको उनले बताए ।

उनले भने, ‘विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो । तर छिमेकी मित्र राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ । परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ ।’

नेपाल भित्रिएका सबैलाई छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टिनमा रहन र अन्य नियमहरुको पालना गर्न उनले आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले जनताबीचको आपसी सहयोग र सजगतामा मात्रै कोरोना जस्तो महामारीको संक्रमणलाई नियन्त्रण गर्न सकिने बताए ।

उनले भने, ‘हामी स्पष्ट हुनुपर्दछ, कोही पनि रहरले मात्र विदेशिएको हुँदैन । कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ । कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन । कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरुको आत्म सम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन म सबै देशबासीहरुलाई आग्रह गर्दछु ।’

घर फर्किएका सबै नागरिकलाई परिवार तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्य सम्बन्धी अन्य नियमहरूको पालना गर्न उनले अनुरोध गरेका छन् । अप्ठ्यारो बेलामा केही तत्वहरु जनतामा भ्रम फिँजाएर आफ्ना स्वार्थ र उद्देश्य पूरा गर्न सक्रिय हुन सक्ने भन्दैै उनले जनतालाई भ्रमित गर्दै समाजमा असन्तोष फैलाउन उद्दत गैरजिम्मेवार तत्वहरुको बहकावबाट सतर्क रहन समेत आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी प्रवृत्ति र हाम्रो मुलुकमा त्यसको प्रभावलाई हेर्दा यस महामारीको संक्रमण अझै केही अवधि जारी रहने देखिएको भन्दै समुदायमा संक्रमण थप विस्तार हुन नदिन आवश्यक सावधानीका साथ केही नयाँ कदम चालिने बताए ।

समाचार वर्गहरू