पलेँटीमा आँखाका डाक्टर सुमनले गुञ्जाए आँखाकै भाका

10

(काठमाडौ) – नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा यसपाली नेत्र विशेषज्ञ सुमन थापा प्रस्तुत भए । शुक्रबार साँझ कालिकास्थान स्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा सुमनले १३ वटा गीत सुनाए ।

कार्यक्रममा प्रस्तुत भएका कतिपय गीतहरू आँखा र दृष्टिसँग सम्बन्धित थिए । आफ्नो पेशासँग सम्बन्धित संस्मरण सुनाउँदै गाइरहेका सुमनलाई सुन्दा लाग्थ्यो उनी आँखा र भाकाका संगम हुन् । कार्यक्रमको सुरुवातमा उनको सांगीतिक यात्राको पहिलो चरणको झलक प्रस्तुत भएको थियो ।

सुमनको आफ्नै शैली झल्किएका दुईवटा गीत प्रस्तुत भएपछि दोस्रो चरणमा गाइएका सबै गीतहरू नयाँ थिए । दोस्रो चरणका ९ वटा गीतहरू गीतकार तथा कवि श्रवण मुकारुङले सृजना गरेका थिए । सुमनका निम्ति बनेका सबै नयाँ गीतमा संगीतकार आभासको धुन सृजना रहेको थियो । प्राय अंग्रेजी भाषामा गाउने सुमन पहिलोपल्ट नेपाली गीत मात्र प्रस्तुत गर्दै थिए ।

तीलगंगा अस्पतालसँग सम्बन्धित डा. सुमन आफ्नो सांगितिक रुचिलाई सदुपयोग गर्दै रकम जुटाउँछन् र विकट गाउँ पुगेर निशुल्क स्वास्थ शिविर संचालन गर्छन् । त्यसको लागि उनी ‘एक एक पाइला’ नामको संस्थासंग आबद्ध छन् । कार्यक्रममा संचालकले सरप्राइज प्रस्तुति भन्दै एउटी नयाँ गायीकालाई सुमनसँग युगल गीत गाउन निम्ता गरे ।

मञ्चको किनार छाम्दै उनी मञ्चमा पलेँटी कसेर बसिन । उनको नाम थियो आशा राई । आशा जन्मदै संसारको दृश्य देख्नबाट बन्चित भएर जन्मेकी रहिछन् । आशालाई नै केन्द्रमा राखेर रचिएका २ वटा गीतमा उनले सुमनसँग स्वर मिलाइन् । कार्यक्रमको अत्यतिर प्रस्तुत भएका बाँकी गीत गीत मध्ये ‘ओ पासाङ दाइ, ओ बैनी फूलमतिया’मा प्रयोग भएको शब्द ‘स्लिट ल्याप्प’लाई बुझाउन डा. सुमनले आँखा जाँच्ने उपकरण नै बोकेर आएका थिए ।

उनले सोही उपकरण देखाउँदै, गीतार र घाँटीमा भिरेको हार्मो्निका बजाउँदै सुनाए( ‘ओ पासाङ दाइ, बैनी फूलमतिया, पर्ख है पर्ख म ‘स्लिट ल्याम्प’ बोकेर आउँदै छु तिमीलाई सुन्दर संसार देखाउन’ ।

त्यसपछि प्रस्तुत भएको फंकी शैलीको गीत ‘हतार छ, एकदम हतार छ, तर ट्राफिक जाम छ’लाई शहरको व्यस्तता र डा. सुमनको पेशासँग जोडेर प्रस्तुत गरिएको थियो । तिहारको माहोललाई ध्यानमा राखेर प्रस्तुत गरिएको अन्तिम गीत ‘साँझको बेला, अप्ठ्यारो बाटो’ पनि आँखासँगै जोडिएको थियो । यो गीत देउसी पारामा प्रस्तुत भएको थियो ।

यसपालीको पलेँटीमा वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मी, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर महर्जनले साथ दिएका थिए । सुमनसँगको पलेँटी शनिबार साँझ पनि हुनेछ ।

समाचार वर्गहरू