काठमाडौं – काठमाडौं पशुपति परिसरको जंगलमा एक किशोरीको शव फेला परेको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
उनको शव शुक्रबार बिहान भेटिएको गौशाला प्रहरी वृतका डिएसपी केशव थेवेले जानकारी दिए । मर्निङवाक गर्न जानेहरुले रुखमा झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । डिएसपी थेवेले बताए अनुसार प्रारम्भिक अनुसन्धानमा किशोरीले आत्महत्या गरेको हुनसक्ने देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।
सिन्धुली घर भई हाल बालुवाखानी, कपन बस्दै उनी केही दिनदेअि सम्पर्कविहीन रहेको बताइएको छ । थापा भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी थिइन् । उनको आफन्तले उनी हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमा अपिल गरेका थिए ।